प्रिमियमको रकम फिर्ता गर्न माग सहितको रिट आज हेर्न नभ्याइनेमा

२४ माघ २०८०, बुधबार १७:३७

काठमाडौं ।  हिमालयन रिइन्स्योरेन्सको प्रिमियमको आईपीओको विषयमा उच्च अदालत पाटनमा दायर भएको रिट आज हेर्न नभ्याइनेमा परेको छ । उच्च अदालत पाटनमा न्यायाधीशद्वय रमेश ढकाल र विदुर कोइरालाको इजलाशमा पेशी तोकिएको थियो । यो मुद्दा उक्त इजलाशको सातौ नम्बरमा तोकिएको कारण आज पनि सुनुवाई हुन सकेन ।

उच्च अदालतमा हरि बहादुर केसीले रिट हालेका हुन् । रिटमा कम्पनीले कानुन विपरित प्रिमियममा आईपीओ निष्काशन गरेकोले प्रिमियम वापतको रकम फिर्ता गर्न माग गरिएको छ ।

यहि विषयको मुद्दा सर्वोच्च अदालतमा पनि दायर भएको छ । मङ्सिर ८ गते यम प्रसाद भट्टराई र अधिवक्ता भीमसेन रायमाझीले संयुक्त रुपमा सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चमा दायर रिटमा भने आगामी माघ २९ गते सुनुवाई हुने गरि मिति तोकिएको छ । यस अघि सर्वोच्चले माघ १० गते सो मुद्दामा सनुवाई गर्दै पूर्ण सुनुवाईको निम्ति पेश गर्न आदेश दिएको थियो । अब माघ २९ गते मुद्दा हेर्न भ्याईएमा सोहि दिनमा यस रिटमा अन्तिम आदेश आउँने सम्भावना रहेको छ ।

दुवै रिटमा नेपाल धितोपत्र बोर्ड , नेपाल बीमा प्राधिकरण र हिमालयन रिइन्स्योरेन्सलाई विपक्षी बनाईएको छ। नियम विपरित हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियममा आईपीओ निष्काशन गर्न अनुमति दिइएको दाबी गर्दै उक्त आईपीओ रोक्न रिट निवेदनमा माग गरिएको थियो । तर अब भने आईपीओ निष्काशन भई, शेयर बाँडफाँड भएर दोस्रो बजारमा कम्पनीको नियमित कारोबार समेत भईरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*