जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन १२% ले बढ्यो, वृद्धिदरमा सानिमा र अग्रस्थानमा नेपाल लाइफ

२९ माघ २०८०, सोमबार १३:४६

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १३ जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ६९ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी जीवन बीमा कम्पनीहरुको यस्तो रकम ६१ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन १२.६७ प्रतिशतले बढेको देखिएको हो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वाधिक बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले समिक्षा अवधिमा २० अर्ब ६ लाख बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपालले ८ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

त्यसैगरी समीक्षा अवधिमा नेशनल लाइफले ८ अर्ब ५६ करोड, हिमालयन लाइफले ८ अर्ब ९ करोड, सूर्यज्योति लाइफले ४ अर्ब २८ करोड तथा एशियन लाइफले ३ अर्ब ६७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

त्यस्तै, सानिमा रिलायन्स लाइफले २ अर्ब ७८ करोड, सिटिजन लाइफले २ अर्ब ७३ करोड, मेट लाइफले २ अर्ब ६८ करोड, आईएमई लाइफले २ अर्ब १० करोड, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ३ करोड, रिलायबल नेपाल लाइफले १ अर्ब ९३ करोड र सन नेपाल लाइफले सर्वाधिक कम १ अर्ब ७७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

गत वर्षको तुलनामा चालु आवको वृद्धिदर हेर्ने हो भने सानिमा रिलायन्स लाइफ अघि रहेको देखिन्छ । यस कम्पनीको कुल बीमाशुल्क आर्जन १३६.०७ प्रतिशतले बढेको छ । दोस्रोमा प्रभु महालक्ष्मीको ९६.५७ र तेस्रोमा सूर्यज्योति लाइफको ५९.७३ प्रतिशतले बढेको छ ।

त्यसैगरी, आईएमई लाइफको १२.३३, नेशनल लाइफको ११.४६, एशियन लाइफको ९.५७ प्रतिशतले बढेको छ । हिमालयनको ८.५१, रिलायबल नेपालको ८.१७, नेपाल लाइफको ७.३७, मेट लाइफको ७.३४ र सिटिजन लाइफको सर्वाधिक कम २.७० प्रतिशतले बढेको छ ।

दुई कम्पनीहरुको भने कुल बीमाशुल्क आर्जन घटेको देखिएको छ । जसमा नेपाल इन्स्योरेन्स कर्पाेरेशनको ०.७६ र सन नेपाल लाइफको ९.४३ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*