नेपालका बैंकहरु सुरक्षित छन्, ढुक्क हुन राष्ट्र बैंकको आग्रह

८ फाल्गुन २०८०, मंगलवार १६:५३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपाली बैंकहरु सुरक्षित रहेको भन्दै ढुक्क हुन आग्रह गरेको छ । राष्ट्र बैंक एक विज्ञप्ति जारी गर्दै बैंकिङ क्षेत्र अर्थब्यवस्थाको मेरुदण्ड रहेको हुँदा कुनै पनि बैंक डुब्ने भन्ने भ्रामक समाचारको पछि नलाग्ने भनेको हो ।

केन्द्रिय बैंकले पछिल्लो समयमा इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको पुँजीकोषको अवस्था कर्जा निक्षेप अनुपातको अवस्था एवम् तरलताको अवस्थासम्बन्धी परिसूचकहरु बैंकको निर्देशन अनुरुप नै रहेको बताएको छ । बैंकहरु विरुद्ध भइरहेका भ्रामक अभिब्यक्ति र दुष्प्रचारप्रति राष्ट्र बैंकले ध्यानाकर्षण जनाएको हो ।

‘कुनै बैंक तथा वित्तीय संस्थामा यी परिसूचकहरू तथा कर्जा, संस्थागत सुशासन लगायतका अन्य विषयमा कुनै समस्या देखिएमा यस बैंकले समयसमयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आइरहेको छ । बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणको निक्षेप परिचालन गर्ने हुँदा यस बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिँदा र निरीक्षण/सुपरिवेक्षण गर्दा समेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको हुन्छ’ विज्ञप्तिमा भनिएको छ ।

बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र  बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको राष्ट्र बैंकले भनेको छ । ‘बैंकिङ जस्तो सम्वेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार आग्रह गर्दछौं’ राष्ट्र बैंकले भनेको छ ।

Press Release (2080-11-08)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*