६ महिनामा जीवन बीमा कम्पनीले बीमा पोलिसि धितोमा उठाए साढे ४ अर्ब ब्याज

१० फाल्गुन २०८०, बिहीबार १५:५१

काठमाडौं । हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा बीमा पोलिसि धितोबाट ४ अर्ब ७२ करोड ६७ लाख ३५ हजार रुपैयाँ ब्याज आम्दानी गरेका छन् । जुन गत आर्थिक वर्षको तुलनामा २५.०५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा जीवन बीमा कम्पनीहरुले बीमालेख धितो ब्याज मार्फत ३ अर्ब ७८ करोड १४ हजार रुपैयाँ प्राप्त गरेका थिए ।

जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै बीमा धितो मार्फत ब्याज आम्दानी गरेका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीले चालु आर्थिक वर्षको पुष महिनासम्ममा २ अर्ब ३ करोड ७८ लाख रुपैयाँ बीमा लेख धितो कर्जा मार्फत ब्याज आम्दानी गरेको छ ।

त्यसैगरी लाइफ इन्स्योरेन्स कर्पोरेशनले १ अर्ब ११ करोड १३ लाख रुपैयाँ र नेशनल लाइफ इन्स्योरेन्सले ४४ करोड ८७ लाख रुपैयाँ धितो कर्जा प्रवाह गरेको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको ६ महिनामा हिमालयन लाइफले ३३ करोड ३० लाख रुपैयाँ, एशियन लाइफले २७ करोड ६९ लाख रुपैयाँ, सूर्यज्योति लाइफले १७ करोड ७२ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ११ करोड रुपैयाँ बीमालेख धितोकर्जाबाट ब्याज प्राप्त गरेका छन् ।

साथै, समीक्षा अवधिमा मेट लाइफले ९ करोड ७६ लाख रुपैयाँ, सिटिजन लाइफले ४ करोड २ लाख रुपैयाँ, सानिमा रिलायन्सले २ करोड ६० लाख रुपैयाँ, प्रभु महालक्ष्मीले २ करोड ३७ लाख रुपैयाँ, रिलायबल नेपालले १ करोड ५६ लाख रुपैयाँ, आइएमई लाइफले १ करोड ४२ लाख रुपैयाँ र सन नेपाल लाइफले १ करोड ८ लाख रुपैयाँ बीमालेख धितोकर्जा मार्फत ब्याज आम्दानी गरेका हुन् ।

बृद्धिदरका आधारमा को अगाडि ?
समीक्षा अवधिमा बृद्धिदरको आधारमा सानिमा रिलायन्स लाइफ अग्र स्थानमा रहेको छ । यस अवधिमा कम्पनीको बीमालेख धितोकर्जा ब्याज ६११.९३ प्रतिशतले बढेको छ । गत वर्ष पुष मसान्तसम्ममा ३६ लाख ६४ हजार रुपैयाँ बीमालेख धितोकर्जा ब्याज मार्फत संकलन गरेको थियो ।

यस्तै, रिलायबल नेपाल लाइफको ५३४.६९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १२३.८५ प्रतिशत, एशियन लाइफको ९३.३३ प्रतिशत, सिटिजन लाइफको ७६.३१ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीको ५३ प्रतिशत, हिमालयन लाइफको ४९.९६ प्रतिशत, सूर्यज्योति लाइफको ४३.२१ प्रतिशत, नेपाल लाइफको २९.३९ प्रतिशत, मेट लाइफको २४.४४ प्रतिशत, नेशनल लाइफको १९.९६ प्रतिशत र सन नेपाल लाइफको १७.६२ प्रतिशतले बीमालेख धितोमा कर्जा ब्याज वृद्धि गरेका हुन् ।

दुई कम्पनीको घट्यो

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा दुई कम्पनीको बीमालेख धितो कर्जा ब्याज घटेको छ । संचालनमा रहेका १४ जीवन बीमा कम्पनी मध्ये २ वटाको मात्र यस्तो धितोकर्जाबाट प्राप्त हुने ब्याज घटेको हो ।

यस अवधिमा आइएमई लाइफको ३२.३९ प्रतिशत र एलआइसी नेपालको ०.६३ प्रतिशतले बीमालेख धितो कर्जा ब्याज घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*