प्रभु बैंकका कर्मचारीले हिनामिना गरेकोमध्ये ७० लाख बचतकर्तालाई फिर्ता

१५ फाल्गुन २०८०, मंगलवार १८:२७

काठमाडौं । रूकुम पश्चिमको प्रभु बैंकका एक कर्मचारीले हिनामिना गरेको रकममध्ये झन्डै ७० लाख बैंकले फिर्ता गरेको छ।

बैंकको रुकुम पश्चिम आठबिसकोट शाखाका अपरेसन इञ्चार्ज निरजविक्रम शाहले हिनामिना गरेकोमध्ये ७० लाख रुपैयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको बैंकका कर्णाली प्रदेश कार्यालय इञ्चार्ज शरद तिमिल्सिनाले बताए।

उनले प्रारम्भिक अनुसन्धान गर्दा पीडित देखिन आएका १४ जनाको ७० लाख जति रकम बैंकले फिर्ता गरेको बताए ।

आठबिसकोट शाखाका अपरेसन इञ्चार्ज शाहले अन्य केही स्थानीयसँग रकम जम्मा गरिदिने भन्दै व्यक्तिगत रूपमा लिएको भनिएको पैसाबारे भने बैंक जवाफदेही हुन नसक्ने अर्का एक कर्मचारीले बताएका छन् ।

बैंकमा जम्मा भई अपचलन भएको बाहेक व्यक्ति विशेष जम्मा गरिदिनु भनेको भए पनि त्यस्ता पीडितलाई बैंकले पैसा फिर्ता गर्ने आधार नहुने उनले दाबी गरे।

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिममा फरार शाहविरूद्ध एक करोड ३१ लाख २५ हजार रुपैयाँ हिनामिना गरेको उजुरी बैंकको तर्फबाट यसअघि नै परेको जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले बताएका थिए ।
शाहले धेरै बचतकर्तालाई विश्वासमा पारेर र नियबस झुक्याएर रकम बैंकमा जम्मा नगरी आफूसँगै राखेर फरार भएको अनुमान गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*