सहकारीको समस्यामा नियामकको भूमिका पनि शंकास्पद: मीनराज कँडेल

१६ फाल्गुन २०८०, बुधबार १२:३५

काठमाडौं । बागमती प्रदेश बचत तथ ऋण सहकारी संघ (बागमती प्रोस्कून) को आयोजनामा आजबाट भक्तपुरमा ‘बागमती प्रदेश साकोस समिट’ सुरु भएको छ । ‘सहकारी सुदृढीकरणको आधारः सहकार्य, एकता र विश्वास’ भन्ने नाराका साथ दुई दिने साकोस समिट सुरु भएको हो ।

कार्यक्रमको संयुक्त उद्धघाटन गर्दै राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष मीनराज कडेलले सहकारी अभियानको सुदृढिकरणका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको बताए । ‘बचत तथा ऋणको कारोबार गर्ने तथा सहकारीको मूल्य मान्यता भन्दा बाहिर रहेका सहकारीहरूमा समस्या सिर्जन भएको छ । यसलाई समाधान गर्नको लागि सबैको हातेमालो आवश्यक छ’ उनले भने, ‘अहिले सहकारीमा नियामक निकायको भूमिका पनि संकास्पद छ । सहकारी क्षेत्रमा देखिएको प्रतिकुल अवस्थामा पनि एउटै संस्थाले एकैदिन २४ वटासम्म सेवा केन्द्र सञ्चालनका लागि स्वीकृति दिएको छ । यसले पनि सहकारी क्षेत्रमा समस्या ल्यायो ।’

उनले सहकारीले २२ प्रतिशतसम्म ब्याज दिएर सदस्यबाट ठूलो बचत लिएका संस्थाहरु नै समस्यामा परेको बताए । कसैले सहकारी जोगाईदिने भन्दा पनि सहकारी आफैले सदस्यहरुको विश्वास जित्दै समस्याको समाधान गर्न केन्द्रित हुनपर्छ उनले सुझाए ।

यस्तै, राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेलले बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्याहरूको समाधानमा यस्ता किसिमका समिटले समाधान गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सहकारी क्षेत्रमा देखिएका समस्या अन्त्य गर्न, दीगो सहकारी अभियान बनाउन, स्वनियमन र सुशानसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न महासंघले नेतृत्व गर्ने उनको भनाई छ । सहकरीले वित्तीय साक्षरता, रोजगारी सृजना गर्न, समावेशिता विकास र संगठन निमार्णमा सहकारीको भूमिका महत्वपूर्ण रहेको उनले जानकारी दिए ।

कार्यक्रममा बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै मिलेर सहकारीको वर्तमान भ्रम चिर्नु पर्नेमा जोड दिए । पछिल्लो समय सहकारीमा यथार्थभन्दा पनि बढी समस्याका कुरा मात्रै बाहिर आएको उनले बताए ।

सहकारी क्षेत्रमा देखिएको समस्या समाधानको लागि सबै मिलेर अगाडी बढ्नुपर्ने ढकालले औल्याए । अभियानलाई सुदृढ पार्नका लागि सबै पक्षले हातेमालो गरेर अगाडी बढ्नु पर्ने धारणा राखे । ‘बचत तथा ऋण सहकारी अभियानलाई साकोस समिटले एक किसिमको सन्देश दिनेछ,’ उनले भने । यस्तै, उनले सहकारी महासंंघले सहकारी क्षेत्रको नेतृत्वदायी भूमिका निर्वाह गरेको छ की छैन भन्ने विषयमा छलफल गर्न आवश्यक रहेकोमा उनको जोड छ ।
बागमती प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटाले सहकारी सस्थाहरुलाई सुशासित र मर्यादित बनाउनको लागि बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ प्रतिवद्ध रहेकोे बताए ।

‘सहकारी क्षेत्रमा भएको जोखिम ब्यावस्थापनको लागि नै संघ केन्द्रित रहेको छ’, उनले भने । साकोस समिट सहकारी क्षेत्रमा सदस्यहरुको बचतको सुरक्षा गर्ने, देखिएका जोखिमलाई न्यूनीकरण विषयमा केन्द्रित हुने उनको भनाई छ । सहकारी अभियानलाई नीति र विधि अनुसार लैजानको लागि संघ सधै प्रतिवद्ध रहेको उनको भनाई छ ।

सहकारी क्षेत्र मजबुत बनाउनको लागि सबै निकायसँग मिलेर जानु पर्ने उनले औल्याए । सहकारीका विषयमा सरकार र सरोकारवाला निकायहरुसँग बहस र पैरबी निरन्तर रुपमा भैरहने सापकोटाले बताए । दुई दिनसम्म साकोस समिटमा १३ जिल्लाका २७० जना सहकारीकर्मीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

One thought on “सहकारीको समस्यामा नियामकको भूमिका पनि शंकास्पद: मीनराज कँडेल

  1. Krishna Shrestha says:

    यस्ता आसन ग्रहण र भाषण वाला काम ले सहकारी सुधार हुदैन, बिगत मा भएका गल्ति हरु महसुस हुने गरि सच्चाउनु पर्छ।
    १ कमजोर धितो राखी ऋण दिने समेत लाइ रिण असुलीमा जिम्मेवार बनाउनु पर्छ।
    २ केहि संचालक हरुले आफनै ‘बाउ’ को पैसा जसरि बचत कर्ताहरु को बचत दुरुपयोग गरेका छन्, तिनीहरुले उक्त रकम सहकारीमा फिर्ता गरेर ‘क्यास फलो’ को अबस्था सिर्जना गर्नु पर्छ।
    ३ सहकारी बाट रिण लगेर नतिर्ने हरु लाइ स्थानीय निकाय समेत को सहयोग लिएर रिण असुली गराउनु पर्छ, रिण लगेर नतिर्ने ‘पातकी’ हरु लाइ समाज ले बहिस्कार गर्नु पर्छ।
    ४ सहकारी पिडित र सरकार बीच भएको ७ बुदे सहमति तुरुन्त कार्यान्वयन मा आयो भने धेरै हद सम्म अबस्थामा सुधार हुन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*