गौर नगरपालिकासँग बीमा अन्तर्क्रिया

३० फाल्गुन २०८०, बुधबार १३:४९

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशको रौतहट जिल्लाको गौर नगरपालिकामा मङ्गलबार बीमा सम्बन्धी छलफल एवम् अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि गौर नगरपालिकाका उप–प्रमुख शैल कुमारी साहले बीमा सम्बन्धी कार्यक्रम आयोजना गरी बीमा सम्बन्धी सबै विषयमा जानकारी दिएकोमा नेपाल बीमा प्राधिकरणप्रति आभार प्रकट गरिन् ।

नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले मधेश प्रदेशमा हाल ९ प्रतिशतमा सीमित रहेको बीमाको दायरालाई आगामी दुई वर्षमा २५ प्रतिशत पुर्याउने लक्ष्यका साथ छुट्टै प्याकेज बनाएर अगाडि बढ्ने तयारी भइरहेको जानकारी दिए ।

निर्देशक लालले बीमाले बचत सँगसँगै जोखिमको आर्थिक सुरक्षा समेत गर्ने भएकाले बीमाको विकास एवम् विस्तारलाई स्थानीय तहले प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै निर्देशक लालले बीमा दावी भुक्तानीलाई सहज बनाउन प्राधिकरणले सीमित कागजातका आधारमा छिटोछरितो रूपमा साना दाबी भुक्तानीको व्यवस्था गरेको स्पष्ट पारे ।

गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुरले बीमा दाबी भुक्तानीमा समस्या रहेको उल्लेख गर्दै बीमाको पहुँच विस्तारका लागि नगरपालिकाले बीमा सम्बन्धी कार्यक्रम ल्याउने जानकारी दिए । कार्यक्रममा गौर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी, बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख, बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधि लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*