सरकारले हवाई दुर्घटना बीमाको रकम बढाउने प्रकृया अघि बढायो

१ चैत्र २०८०, बिहीबार ०८:४२

काठमाडौं। सरकारले आन्तरिक हवाई दुर्घटनामा परेर ज्यान गुमाउने यात्रुलाई सवा करोड रुपौँभन्दा बढी रकम दिने व्यवस्थासहित हवाई यात्रुमैत्री कानुन निर्माण प्रक्रिया अघि बढाएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सोमबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै हवाई यातायात सेवा सञ्चालन, संस्थाको दायित्व तथा बिमा व्यवस्था गर्ने विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको बताएकी छिन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा सम्बन्धमा व्यवस्था गर्ने विधेयक बनाउन फागुन दोस्रो साता प्रारम्भिक मस्यौदा मन्त्रीपरिषद्मा दर्ता गराएको थियो । पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले मन्त्रीपरिषद्बाट उक्त विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्राप्त भएसँगै अब हवाई यात्रुमैत्री कानुन निर्माणको प्रक्रिया अगाडि बढ्ने बताएका छन्।

उनले भने, “आन्तरिक हवाई दुर्घटनाका यात्रुले पाउने क्षतिपूर्ति बढाउन तयार पारिएको विधेयकको मस्यौदालाई मन्त्रीपरिषद्ले स्वीकृत गरेको छ । कानुन र अर्थ मन्त्रालयको सहमतिसहितको मस्यौदामा अब थप अध्ययन र सैद्धान्तिक सहमतिसहित अन्तिम खाका बनाएर पुनः मन्त्रीपरिषद्मा पेस गरिने छ ।”

त्यसपछि पर्यटनमन्त्रीले संसद्मा दर्ता गराउने र संसद्मा छलफल भएर स्वीकृत भएपछि बन्ने ऐनले आन्तरिक उडानका यात्रुले पाउने बीमा रकम पाँच गुणाले बढ्ने उहाँले बत्रताएका छन् । हाल आन्तरिक उडानका जहाज दुर्घटना भएर ज्यान गुमाउने यात्रुले २० हजार डलर बीमा रकम पाउँदै आएका छन् । विधेयकले ऐनको रूप धारण गरेपछि सम्बन्धित यात्रुका परिवारले बिमाबापत एक लाख डलर रकम पाउने छन् । हाल अन्तर्राष्ट्रिय उडानतर्फ यस्तो बिमा रकम एक लाख ६० हजार डलर रहेको छ ।

त्यस्तै सरकारले संयुक्त राष्ट्रसङ्घको मानव अधिकार परिषद्को सन् २०२७–२०२९ र सामाजिक तथा आर्थिक परिषद् २०२९–२०३१ अवधिका लागि सदस्य पदमा नेपालले उम्मेदवारी पेस गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*