बीमा दाबी भुक्तानी नगद रहित बनाउन बीमितको सुझाव

१ चैत्र २०८०, बिहीबार १२:५१

काठमाडौं । बीमा दाबी भुक्तानीलाई नगद रहित बनाउन बीमितले सुझाव दिएका छन् । नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेशको आयोजनामा भएको ‘वित्तीय क्षेत्र तथा गैर सरकारी संस्थासँग बीमा सम्बन्धी अन्तर्क्रिया’ कार्यक्रममा बीमितले उक्त सुझाव दिएका हुन् ।

यस कार्यक्रमको सभापतित्व नेपाल बीमा प्राधिकरण, प्रदेश कार्यालय प्रमुख पूर्ण बहादुर थापाले गरेका थिए भने प्रमुख अतिथिको रुपमा नेपाल राष्ट्र बैंक प्रदेश प्रमुख शतेन्द्र राज सुवेदीको उपस्थिति रहेको थियो । कार्यक्रमका सभापति थापाले बीमा प्राधिकरणको सामान्य जानकारी तथा प्राधिकरणले बैंकिङ क्षेत्रबाट गरिएका अपेक्षाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स बीमा कम्पनीका प्रदेश प्रमुख तथा निप्स लुम्बिनी प्रदेशका अध्यक्ष विश्व दिपक नेपालले मोटर बीमा र सामुद्रीक बीमाका प्रस्ताव फारम, ग्राहक परिचय पत्र, बीमलेखको रक्षावरण गर्ने जोखिम र दाबी भुक्तानीका लागि आवश्यक कागजातको विषयमा प्रस्तुतिकरण गरेका थिए ।

त्यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख शंकर श्रेष्ठले सम्पत्ति बीमाका प्रस्ताव फारम, ग्राहक परिचय पत्र, बीमालेखले रक्षावरण गर्ने जोखिम र दाबी भुक्तानीका लागि आवश्यक कागजातको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

अन्तर्क्रिया कार्यक्रममा सहभागीहरुले मोटर बीमामा जिरो ह्रासकट्टा बीमालेख लागु हुनुपर्ने, दाबी भुक्तानी नगद रहित हुनुपर्ने, सम्पत्ति बीमामा बीमाङ्क रकम कम वा बढी राख्दा हुने असरहरुको विषयको जानकारी बीमालेखमा राख्नुपर्ने, मोटर बीमालेख समय सापेक्ष परिमार्जन गरी लागु गर्नुपर्ने र बीमित सम्पत्तिको जानकारी बीमा सूचना केन्द्रमार्फत प्राप्त हुने व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवेदीले दाबी भुक्तानी प्रक्रिया सरलीकृत गरी बीमाको विश्वसनीयता बढाउनुपर्ने, बीमाको दायरा बढाएर बीमितलाई सर्वसुलभ दररेटमा बीमा सेवा दिनुपर्ने, बैंक तथा वित्तीय संस्था र बीमाको विश्वसनीयता बढाउन सहकार्य गर्नुपर्ने र बैंकबाट ऋण लिएका साथसाथै ऋण नलिएका ऋणीको सम्पत्तिको स्वस्फूर्त रुपमा बीमा गर्ने वातावरण श्रृजना गर्नुपर्ने भनाई राखेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*