जीवन बीमा कम्पनीको नयाँ व्यवसाय झिनो प्रतिशतले बढ्यो, नेशनल र नेपाल लाइफ सबैभन्दा अगाडी, अन्यको अवस्था कस्तो ? (तथ्यांकसहित)

१२ चैत्र २०८०, सोमबार १६:१३

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले फागुन महिनासम्ममा १८ अर्ब ६६ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको फागुन महिनामा १८ अर्ब ५२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन करिब ० दशमलव ७६ प्रतिशतले बढेको छ ।

नयाँ व्यवसाय बृद्धिको आधारमा नेशनल लाइफ र नेपाल लाइफ अग्रस्थानमा रहेका छन् । फागुन महिनासम्ममा नेपाल लाइफले सबैभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले फागुन महिनासम्ममा कुल चार अर्ब २४ करोड ४२ लाख रुपैयाँ बरारबरको नयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत फागुन महिनाको सोही अवधिमा कम्पनीको प्रथम बीमाशुल्क आर्जन २२ प्रतिशतले बृद्धि भएको छ ।

त्यस्तै, नेशनल लाइफले फागुन महिनासम्ममा कुल २ अर्ब ८५ करोड ९१ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय आर्जन गरेको छ । गत फागुन महिनाको तुलनामा कम्पनीको नयाँ व्यवसाय २३ दशमलव ७२ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा एशियन लाइफको प्रथम बीमा शुल्क १२ दशमलव ९४ प्रतिशतले बढेको छ । आइएमई लाइफले फागुन महिनासम्ममा ८७ करोड ५९ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय आर्जन गरेको छ । यसका साथै, फागुन महिनासम्ममा सिटिजन लाइफको नयाँ बीमाशुल्क आर्जन ५ दशमलव ७६ प्रतिशतले घटेर १ अर्ब ९ करोड २० लाख रुपैयाँ रहेको छ ।

फागुन महिनासम्ममा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को ६ दशमलव ९१ प्रतिशत, रिलायबल नेपाल लाइफको ७ दशमलव २२ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीको ८ दशमलव ६३ प्रतिशत, सानिमा रिलायन्स लाइफको १० दशमलव २९ प्रतिशत, हिमालयन लाइफको ११ दशमलव ४५ प्रतिशत, सूर्यज्योति लाइफको १८ दशमलव ४८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २४ दशमलव ०१ प्रतिशत र सन नेपाल लाइफको २७ दशमलव २३ प्रतिशतले प्रथम बीमा शुल्क आर्जन घटेको वित्तीय विवरणले देखाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*