धितोपत्र बोर्डको अध्यक्ष चयनको प्रक्रिया छिटो अघि बढाउन अर्थमन्त्रीको निर्देशन

१३ चैत्र २०८०, मंगलवार १८:३२

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लामो समयदेखि रिक्त रहेको धितोपत्र बोर्डको अध्यक्ष चयनको प्रक्रिया अघि बढाउन अर्थसचिव डा. कृष्णहरि पुष्करलाई निर्देशन दिएका छन् ।

मन्त्रालयको चालु आर्थिक वर्षको फागुन महिनासम्मको प्रगति समीक्षा बैठकको क्रममा मन्त्री पुनले बोर्डको नेतृत्व चयन प्रक्रिया छिटो अघि बढाउन सचिव पुष्करलाई निर्देशन दिएका हुन् ।

नियामक निकाय नेतृत्वविहीन हुनु राम्रो नभएको भन्दै तत्काल बोर्डको अध्यक्ष पदको लागि प्रकृया अघि बढाउन निर्देशन दिएका हुन् ।

उनले भने, ‘नियामक निकाय रेफ्रीको भूमिकामा रहने हो । आफैं मैदानमा आएर कसैलाई एलो कार्ड देखाउने र कार्ड देखाउनै नपर्नेलाई कार्ड देखाउने काम नियामक निकायले गर्नुभएन ।’

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको संयोजकत्वमा गठित अध्यक्ष छनौट समितिले १९ जना आवेदक मध्येबाट पाँच जनाको नाम तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ ।

हाल चर्चामा रहेका नाम अनुसार चिरञ्जीवी चापागाँई, डा. नबराज अधिकारी र कृष्ण बहादुर कार्कीको सर्टलिष्टमा पर्ने निश्चित छ । यस बाहेक डा बिमल कुमार तिवारीको समेत सर्टलिष्टमा नाम निस्कने सम्भावना बलियो रहेको चर्चा चलिरहेको छ । यस बाहेक अर्का एक जना कसको नाम सर्टलिष्ट ५ भित्र पर्छ भनेर निश्चित भइसकेको छैन ।
छनौट समितिले सार्वजनिक गरेको ५ जनालाई कार्ययोजना र प्रस्तुतिकरण पछि तीन जनाको नाम सिफारिस गर्नेछ । छनौट समितिमा श्रेष्ठको अलावा अर्थ सचिव सचिव कृष्णहरि पुस्कर र विज्ञको तर्फबाट उदय निरौला सदस्य रहेका छन् । निरौला माओवादी कोटाबाट शंकरदेव क्याम्पसमा प्राध्यापन गर्दै आइरहेका छन् ।
यस पटक धितोपत्र बोर्डमा माओवादी कोटाबाट आउने निश्चित जस्तै देखिएको छ । सो आधारमा यस पटक धितोपत्र बोर्डमा चिरञ्जीवी चापागाई, डा. नबराज अधिकारी र कृष्ण बहादुर कार्कीका बीचमा भिडन्त हुने देखिएको छ ।

स्रोतका अनुसार आजै वा आगामी सोमबारसम्ममा सर्टलिष्टमा परेका पाँच जनाको नाम सार्वजनिक हुनेछ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ बजेट निर्माणमा व्यस्त हुने भएकोले पनि चाँडै नियुक्त प्रक्रिया पूरा गर्न चाहेको देखिएको छ ।
गत पुस २० गते रमेशकुमार हमालको कार्यकाल सकिएपछि धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त रहेको छ । हाल डा. नबराज अधिकारीले कामु अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*