६ कम्पनीको लकइन अवधि सकिँदै, कुन कम्पनीको कारोबार कहिले सुचारु हुँदैछ?

१४ चैत्र २०८०, बुधबार ११:१९

काठमाडौं । ६ कम्पनीका सेयरमा लकइन अवधि सकिँदैछ । चैतको बाँकी अवधि र वैशाख १५ गतेभित्र ६ कम्पनीका सेयरमा लकइन सकिने भएको हो ।

सबैभन्दा पहिले लकइन सकिने कम्पनी हो– सूर्याज्योति लाइफ इन्स्योरेन्स कम्पनी हो । कम्पनीले कर्मचारीलाई सुरक्षित गरेको २ लाख ९९ हजार २९३ कित्ता सेयरमा चैत २० देखि लकइन अवधि सकिने भएको छ ।
सो कम्पनीकै संस्थापक समूहबाट सर्वसाधारण समूहमा परिणत भएको ३७ लाख ९१ हजार ९१ कित्ता सेयरमा पनि चैत २० देखि नै लकइन अवधि सकिने भएको छ । यी सेयर साधारणसरह चैत २१ देखि कारोबार हुन सक्नेछ ।

सो कम्पनीको १ करोड १ लाख ७५ हजार ९७९ कित्ता संस्थापक सेयरमा चैत २० देखि नै लकइन अवधि सकिने भए पनि संस्थापक सेयरको कारोबार संस्थापक–संस्थापकबीच मात्रै हुन सक्नेछ ।
चैत २३ मा सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको म्युचुअल फण्डसँग रहेको ४ लाख २ हजार १९ कित्ता सेयरमा लकइन अवधि समाप्त हुँदैछ । २४ गतेदेखि कारोबार हुनेगरी फुकुवा हुने सेयर रजिस्टार कम्पनी एनआईएमबीएस क्यापिटलले जनाएको छ ।

चैत २५ गते सिंगटी हाइड्रोपावरको संस्थापक, आयोजना प्रभावित तथा कर्मचारीको सेयरमा लकइन अवधि सकिने भएको छ । चैत २६ गतेदेखि ती सेयर सर्वसाधारणसरह कारोबारका लागि खुला हुनेछ । सिंगटीको संस्थापक समूहको १ करोड १ लाख ५० हजार कित्ता, प्रभावित स्थानीयको १४ लाख ५० हजार कित्ता र कर्मचारीको ५८ हजार कित्ता सेयरमा चैत २५ देखि लकइन अवधि सकिने भएको हो ।

वैशाख २ देखि माथिल्लो मैलुङखोला जलविद्युत कम्पनीले म्युचुअल फण्डलाई छुट्याएको ७५ हजार कित्ता सेयरमा लकइन अवधि समाप्त हुनेछ । लकइन अवधि समाप्त भएको भोलिपल्टबाट ती सेयर कारोबार गर्न बाटो खुल्नेछ ।

वैशाख ३ देखि रुरु जलविद्युत् कम्पनीको कुल ४४ लाख ४४ हजार ९७८ कित्ता सेयरमा लकइन अवधि सकिने भएको छ । जसमा संस्थापकको ३९ लाख ४५ हजार ८८८ कित्ता, प्रभावित स्थानीयबासीको ४ लाख ८९ हजार २४५ कित्ता र कर्मचारीलाई सुरक्षित गरिएको ९ हजार ८४५ कित्ता सेयरमा वैशाख ३ गते लकइन अवधि सकिनेछ । यी सेयर वैशाख ४ देखि साधारणसरह कारोबार गर्न खुला हुनेछ ।

त्यस्तै चिरख्वा हाइड्रोपावरले म्युचुअल फण्डलाई छुट्याइएको ४० हजार कित्ता सेयरमा वैशाख १५ देखि ‘लकइन’ समाप्त हुने बिक्री प्रवन्धक आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*