सामाजिक उत्तरदायित्वमा बैंकहरुले गर्ने खर्च घट्यो, नेपाल बैंकको सामाजिक कार्यमा उच्च गिरावट

पुरुषोत्तम नेपाल
१४ चैत्र २०८०, बुधबार १३:१२

काठमाडौं । आर्थिक वर्ष २०७८।०७९ को तुलनामा २०७९।०८० मा अधिकांश वाणिज्य बैंकहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको खर्च घटाएका छन् । ११ बैंकहरुले यस्तो खर्च घटाउँदा ७ वटा बैंकहरुले भने बढाएका हुन् । आव २०७८।७९ मा ४२ करोड ७१ लाख रुपैयाँ खर्च गरेका बैंकहले आव २०७९।८० मा जम्मा ३७ करोड ३९ लाख रुपैयाँ कूल खर्च गरेका छन् ।

बैंकहरुले आफ्नो मुनाफाको एक प्रतिशत अंश सामाजिक कार्यमा खर्च गर्न सकिने प्रावधान रहेको छ । यस अनुसार गरिने खर्च शिक्षा, स्वास्थ्य, मानवीय सहयोग तथा राहत, विश्व सम्पदा, वातावरण, वित्तीय साक्षरता, दिगो विकास लक्ष्य र अन्य क्षेत्र जस्तै, ट्राफिक व्यवस्थापन तथा यात्री प्रतिक्षालय, सडक बत्ती लगायत राष्ट्र बैंकले समय समयमा तोकिदिएको अन्य क्षेत्रहरुमा गर्नुपर्नेछ ।

आर्थिक वर्ष २०७८।०८९ को तुलनामा २०७९।०८० मा प्राइम कमर्सियल बैंकले सामाजिक कार्यमा गरिने यस्तो खर्च सर्वाधिक बढाएको छ । बैंकले ६१४.८९ प्रतिशतले खर्च बढाएको देखिएको छ । दोस्रोमा हिमालयन बैंकले सोही अवधिमा १६१.९९ प्रतिशतले बढाएको छ । त्यसैगरी, एभरेष्ट बैंकले ३०.६० र ग्लोबल आइएमई बैंकले २१.५० प्रतिशतले सामाजिक क्षेत्रमा हुने खर्च बढाएको छ ।

यता, सानिमा बैंकले १७.५७, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.२६, एनआईसी एशिया बैंकले ०.१२ प्रतिशतले संस्थागत सामाजिक कार्यमा खर्च बढाएको छ भने सिद्धार्थ बैंकले उक्त अवधिमा समान खर्च गरेको छ ।

सामाजिक कार्यमा गरिने खर्च सर्वाधिक घटाउनेमा नेपाल बैंक रहेको छ । बैंकले आ.व २०७८।०७९ को तुलनामा आ.व २०७९।०८० मा ७५.६६ प्रतिशतले खर्च घटाएको छ । त्यस्तै, एनएमबी बैंकले ६३.२२, नबिल बैंकले ४२.०२, कुमारी बैंकले ४१.७०, राष्ट्रिय वाणिज्य बैंकले ३२.३७ प्रतिशतले खर्च घटाएका छन् ।

त्यसैगरी, लक्ष्मी सनराइज बैंकले ३२.३४, नेपाल एसबिआई बैंकले २०.६२, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २०.५०, कृषि विकास बैंकले ७.२३, सिटिजन्स बैंकले ७.०८ र माछापुच्छ्रे बैंकले ७.०७ प्रतिशतले खर्च घटाएको छ ।

आर्थिक वर्ष २०७९।०८० मा बैंकहरुद्वारा गरिएको सामाजिक कार्य अन्तर्गतको खर्च हेर्ने हो भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सर्वाधिक चार करोड २३ लाख रुपैयाँ खर्च गरेको छ । दोस्रोमा एनआईसी एशिया बैंकले चार करोड २२ लाख र तेस्रोमा हिमालयन बैंकले तीन करोड ३३ लाख रुपैयाँ खर्च गरेको छ ।

त्यसैगरी, सिद्धार्थ बैंकले दुई करोड ९० लाख, ग्लोबल आइएमई बैंकले दुई करोड ४५ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले दुई करोड २५ लाख, नबिल बैंकले दुई करोड २३ लाख, कृषि विकास बैंकले एक करोड ९८ लाख तथा सिटिजन्स बैंकले एक करोड ८६ लाख रुपैयाँ खर्च गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*