लक्ष्मी सनराइज बैंकको लैङ्गिक समानता र महिला सशक्तीकरण कार्यक्रम सम्पन्न

१८ चैत्र २०८०, आईतवार १७:०८

काठमाडौं । लक्ष्मी सनराइज बैंकले समावेशीता, समानता र सशक्तिकरणको संस्कृतिलाई बढावा दिने आफ्नो प्रतिबद्वतालाई जोड दिँदै ‘24: Empowering Women in Leadership – Inspire Inclusio’ कार्यक्रमको आयोजना गरेको छ ।

उक्त कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका माननीय सदस्य लिली थापा, अन्तराष्ट्रिय मुद्रा कोषका आवासीय प्रतिनिधि टेरेसा दबान सान्चेज, एफ वान सफ्ट समुहका पियुष पौड्याल तथा भायनेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठक लगायतका वक्ताहरुले महिला नेतृत्व र सशक्तिकरणको बारेमा आफ्ना महत्वपूर्ण धारणाहरु राखेका थिए ।

कार्यक्रमको समापन मन्तव्यमा लक्ष्मी सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले बैंकका महिला कर्मचारीहरूको व्यवसायिक विकास तथा मानसिक एवं शारिरिक सुस्वास्थ्य सुनिश्चित गर्न बैंक प्रतिबद्ध रहेको बताए । यस पहलमा वृहत मेन्टरसिप कार्यक्रम, लक्षित नेतृत्व प्रशिक्षण, गर्भावस्थाको समयमा लचिलो कार्य व्यवस्थाहरू र महिला कर्मचारी भएका कार्यालयहरूमा स्याहार केन्द्र तथा स्तनपान कक्षहरूको व्यवस्था लगायतका योजनाहरू समावेश छन् ।

हाल बैंकको ३६% जनशक्ति महिला छन् भने महानगरहरूमा सो अनुपात ४५% रहेको छ। काठमाडौं उपत्यका भित्रका बैंकका करिब ४०% शाखामा महिला शाखा प्रबन्धकहरू रहेका छन् भने बैंकको २५% विभागको नेतृत्त्व महिलाहरुले गरीरहेका छन्।

सो कार्यक्रमको अन्त्यमा लैगिंक समावेशीता, समानता र सशक्तिकरण झल्काउन सबै सहभागीहरू मिली ’आधुनिक मिथिला पेन्टिङ’ पनि बनाइएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*