तोकिएको समयमा साधारण सभा नगर्ने ४२ कम्पनी चिन्नुहोस्, संस्थागत सुशासन कमजोर

१९ चैत्र २०८०, सोमबार १३:३३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत कम्पनीहरुले चालु आर्थिक बर्षको ६ महिनामाभित्र साधारण सभा गरिसक्नु पर्ने व्यवस्था छ ।

तर तोकिएको समयमा साधारण सभा नगर्दा नियामक निकायले प्रत्यक्ष रुपमा कार्वाही गर्ने व्यवस्था नहुँदा यस्ता कम्पनीको संस्थागत सुसासन कमजोर बन्दै गईरहेको छ।साथै समयमा साधारण सभा नगर्दा केही फरक पर्दैन भन्ने सोचाई कम्पनीहरुमा व्याप्त हुन थालेको छ ।

बजारमा सूचीकृत भए पश्चात लगानीकर्ताले त्यस्ता कम्पनीको संस्थागत सुशाशनको बारेमा जानकार हुनु पर्छ । त्यसको लागि बीमापोष्टले  समयमा साधारणसभा नगर्ने कमपनीहरुलाई चिनाउने प्रत्यन गरेका छौ ।

चैत मसान्तसम्ममा पनि नेप्सेमा सूचीकृत ४२ कम्पनीहरुले हालसम्म साधारण सभा गर्न सकेका छैनन् । चालु आर्थिक वर्ष सकिएको ६ महिना अर्थात् पुस मसान्तसम्म सूचीकृत कम्पनीले अघिल्लो वर्षको साधारण सभा गर्नुपर्छ । समय सकिएको चार महिनासम्म पनि अझैसम्म पनि ४२ सूचीकृत कम्पनीहरुले हालसम्म पनि साधारणसभा गर्न सकेका छैनन् ।

नियामकले यी कम्पनीहरुलाई कुनै कारबाही नै गर्न सकेको छ, न सभा गर्न नसक्नुको कारण खुलाएर शेयरधनीलाई नै जानकारी दिएको छ।

यता, नेप्सेमा सूचीकृत १२ निर्जीवन बीमा कम्पनीमध्ये ३ वटाले हालसम्म साधारण सभा गर्न सकेका छैनन् ।

सानिमा जीआइसीको भने साधारण सभाको मिति तय भएको छ । नेप्सेमा सूचीकृत १२ जीवन बीमा कम्पनीहरुमध्ये नौ वटाले हालसम्म पनि गत आर्थिक वर्षको साधारण सभा आह्वान गरेका छैनन् ।

निर्जिवन बीमातर्फ राष्ट्रिय बीमा कम्पनी, सानिमा जिआईसी र प्रभु इन्स्योरेन्सले हालसम्म साधारणसभा गर्न सकेका छैनन् ।

त्यस्तै, नेशनल लाइफ, एलआईसी नेपाल, सूर्य ज्योति लाइफ, सानिमा रिलायन्स लाइफ, सन नेपाल लाइफ, नेपाल लाइफ, हिमालयन लाइफ, प्रभु महालक्ष्मी लाइफ र आइएमई लाइफले हालसम्म साधारणसभा गर्न सकेका छैनन् ।

साधारण सभा किन समयमा गर्न सकिएन भनेर सेयरधनीलाई जानकारी दिनु कम्पनीहरुको जिम्मेवारी हो ।नियामक निकायको कमजोरी तथा सूचीकृत कम्पनीहरुको संस्थागत सुशासनमा समस्या र केही कानुनी तथा व्यवहारिक समस्याका कारण कम्पनीहरुले समयमै साधारण सभा गर्न नसकेको देखिन्छ ।
सेयरधनीप्रतिको जवाफदेहिताका सवालमा पनि कतिपय कम्पनीहरु कमजोर देखिएको यसले पुष्टि हुन्छ ।निर्धारित समयमै साधारण सभा यसअवधिमा उत्पादन तथा प्रशोधन समूह, होटल तथा टुरिजम समूहका सबै कम्पनीहरुले साधारण सभा सम्पन्न गरेका छन् ।

वाणिज्य बैंकमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभा सम्पन्न भएको छैन ।

यसले चैत २० गते सभा बस्ने जनाएको छ । यस्तै, नेप्सेमा सूचीकृत ४ विकास बैंकहरुले हालसम्म पनि गत वर्षको वार्षिक साधारण सभा सम्पन्न गर्न सकेका छैनन् । ४ मध्ये ग्रीन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७८–७९ र २०७९–८० को वार्षिक साधारण सभा चैत २७ गते बोलाएको छ । फाइनान्स कम्पनीहरु मध्ये सेन्ट्रल फाइनान्सको साधारण सभा हुन बाँकी रहेको छ । यसले चैत २३ गते सत्रौं वर्षिक साधारण सभा बोलाएको छ । सभा नगर्नेमा लघुवित्त कम्पनीहरुको संख्या पनि धेरै छ ।

हाल नेप्सेमा सूचीकृत लघुवित्त कम्पनीहरुमध्ये १५ वटाको वार्षिक साधारण सभा हुन बाँकी रहेको छ । जसमध्ये डिप्रोक्स लघुवित्त, महुली लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, आरम्भ चौतारी लघुवित्त, मानुषी लघुवित्तको साधारण सभाको मिति तय भएको छ भने बाँकीको मिति तय हुन बाँकी रहेको छ । यता, साधारण सभा नगर्नेमा सबैभन्दा धेरै कम्पनी हाइड्रोपावर समूहका रहेका छन् । हालसम्म सूचीकृत २७ हाइड्रोपावरले साधारण सभा गर्न सकेका छैनन् ।

नेप्सेमा ९१ वटा हाइड्रोपावर कम्पनीहरु सूचीकृत छन् । २७ मध्ये ४ वटाले साधारण सभाको मिति तय गरेका छन् । साधारण सभा बोलाउनेमा युनाइटेड मोदी हाइड्रोपावर, मैलुङ खोला जलविद्युत, पिपुल्स हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावर रहेका छन् । यता, अन्य समूहमा सूचीकृत भएको नेपाल पुनर्बीमा कम्पनीले पनि हालसम्म गत आर्थिक वर्षको साधारण सभा आह्वान गरेको छैन । साथै, ट्रेडिङ समूहअन्र्तगतको साल्ट ट्रेडिङ र विशाल बजार कम्पनीले पनि हालसम्म साधारण सभा आह्वान गरेको छैन । विशाल बजारको सभा आर्थिक वर्ष २०७२–७३ देखि बसेको छैन । यता साल्ट्र टेडिङले भने साधारण सभाको मिति तय गरिसकेको छ । यता, लगानी समूहको नागरिक लगानी कोष, सीइडीबी हाइड्रोपावरले पनि हालसम्म साधारण सभा गर्न सकेका छैनन् ।

कुनै पनि कम्पनीको वार्षिक साधारणसभा शेयरवालाहरूको संयुक्त बैठक हो । कम्पनी ऐन २०६३ को दफा ७६ अनुसार कारोबार सञ्चालन भएको एक वर्ष भित्र पब्लिक कम्पनीहरुले पहिलो साधारण गर्ने र त्यस पछि प्रत्येक वर्ष कम्पनीको आर्थिक वर्ष पूरा भएको ६ महीनाभित्र वार्षिक साधारणसभा गर्नु पर्ने हुन्छ ।

कम्पनीहरुले एक वर्षमा एकपटक कम्पनीको विविध पक्षका बारेमा शेयरवाला सँग साधारण सभा मार्फत छलफल गर्ने छन् । साधारण सभाले पारित गरेको सम्पूर्ण विषय कम्पनीको हकमा महत्वपूर्ण हुन्छ । त्यसैले साधारणसभा कम्पनीका लागि सर्वोच्च निकाय पनि मानिन्छ ।

शेयरधनीहरुको सभा, जहाँ ५० प्रतिशत भन्दा धेरै शेयरधनीको उपस्थिति जरुरी हुन्छ । सामान्यतया वार्षिक साधारण सभाले कम्पनीको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र सञ्चालकको प्रतिवेदन जस्ता विषयमा छलफल गरि निर्णय गर्ने गर्छ ।

त्यसैगरी कम्पनीको अधिकृत पूँजी बढाउन, शेयर पूँजी हेरफेर, नाम र मुख्य उद्देश्य परिवर्तन गर्न, कम्पनी गाभिने विषय, प्रालिबाट पब्लिक वा पब्लिकबाट प्रालिमा परिणत हुने जस्ता विषयमा पनि साधारणसभाले नै अन्तिम निर्णय गर्ने गर्छ ।

कम्पनीहरुले कमाएको मुनाफाबाट शेयरधनीलाई बितरण गर्ने लाभांश प्रस्ताव पनि साधारण सभाले पारित गरे पछि मात्र लगानीकर्ताले पाउँछन् । यस अर्थमा कम्पनीको महत्वपूर्ण निर्णयहरु गराउने सभालाई समयमा नै नगराउँदा संस्थागत सुसाशनको अवस्था माथि प्रश्न उठ्नु स्वभाविक हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*