भ्रष्टाचारविरोधी अभियन्ता भरत जंगम मुछिए सहकारी ठगि काण्डमा, सफ्टवेर र काजगात जफत

२२ चैत्र २०८०, बिहीबार १८:४१

काठमाडौं । सिरक ओढेर घ्यू खाने प्रवत्तिका मान्छेहरुलाई ‘स्याटर’ हान्न नेपालीमा कैयन उखान् छन्, ‘काले काले मिलेर खाउँ को नि के…, जो अगुवा उही बाटो…, रक्षक नै भक्षक, जो चोर उसैको ठूलो स्वर, यस्तै ।’

संस्कृतमा पनि एउटा भनाई छ, ‘एक लज्जाम् परित्यज्ये, सर्वत्र विजयेते’ अर्थात् मान्छेले एउटा लाज मात्रै त्याग्ने हो भने पनि सर्वत्र विजयी हुन्छ । लाज वा त्यसभित्र लुकेको नैतिकताका कारण मान्छे दुष्कर्म गर्नबाट हच्किन्छ । तर, नेपालका टाठाबाँठा तथा पहुँचवालहरुले पहिलो हरफका उखान् र दोस्रो हरफको संस्कृत वाणी सबै चरितार्थ गरिदिएका छन् ।

कुनै समय भ्रष्टाचार विरोधी अभियन्ताको रुपमा परिचित तथा देशभर भ्रष्टाचारविरोधी भेटयात्रा लिएर निस्किएका भरत जंगमसमेत सहकारी ठगिमा मुछिएका छन् । जंगम अध्यक्ष रहेको काठमाडौं विजुलीबजारस्थित साई स्वागत बचत तथा ऋण सहकारी संस्थाले पनि बचतकर्ताको रकम ठगि गरेको भेटिएको छ ।

बचतकर्ताले दिएको उजुरीका आधारमा बुधबार मात्रै काठमाडौँ महानगरपालिकाले छापा हानेको थियो । महानगरपालिकाको सहकारी विभागले बुधबार सहकारीमा छापा हानेको हो । विभागका अनुसार बचतकर्ताले सञ्चालक समितिबाट रकम हिनामिना गरेको भन्दै बचत फिर्ता दिन महानगरमा उजुरी परेको थियो ।

महानगरको अनुगमन टोलीले सहकारीको कार्यालयबाट सफ्टवेयर सिस्टम जफत गरेको छ भने पछिल्लो साधारणसभाको उपस्थिति निर्णयसहित माइन्युट, सहकारीबाट ऋण लिने ऋणीको विवरण, बचतकर्ताको विवरण, धेरै ऋण लैजाने ऋणी, सञ्चालक समितिका सदस्यहरूको विवरण लिएको छ ।

साई स्वागत बचत तथा ऋण सहकारी संस्था रास्वपा सभापति तथा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल समेत जोडिएको संस्था हो । महानगरको सहकारी विभागमा निकिता जमानी बसेर ऋण दिएको मान्छे नै भागेको भन्दै उजुरी आएको थियो ।

सहकारीको निवर्तमान उपाध्यक्ष रहेकी उनी हाल सहकारीबाट अलग भइसकेको बताइँदै छ । यस विषयमा कुरा गर्न जंगमसँग सम्पर्क गर्दा फोन उठाएनन् । महानगर सहकारी विभागका अधिकारीहरुका अनुसार महानगरले बचतकर्ताको उजुरी आएका ४० वटा सहकारीको अनुगमन गरिरहेको छ भने ८ वटामा छापा मारी कागजपत्र जफत गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*