सहकारी ठगीमा आफनो संलग्नता नरहेको श्रममन्त्रीको स्पष्टोक्ति

२४ चैत्र २०८०, शनिबार १६:१०

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद अर्यालले सहकारी ठगीमा आफनो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्नु भएको छ । बजारमा हल्ला फिजाईए जस्तो गरी सहकारी ठगीमा आफनो कुनै भूमिका नरहेको उहाँले स्पष्ट पार्नु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्र नम्बर ५ काठमाडौले आउँदै गरेको नयाँ बर्षको अवसरमा शनिबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सरकारले समस्याग्रस्त घोषणा गरेको हाम्रो नयाँ कृषि सहकारीमा अहिले आफनो कुनै संलग्नता नभएको दाबी गर्नु भएको छ । “२०७८ सालमा म सो सहकारीको उपाध्यक्ष थिए । तर, मेरो कार्ययोजना र सहकारी सञ्चालकसँगका बिचार मेल खान नसके पछि मैले २०७८ साल पुस ११ गते नै राजीनामा दिएको हो,” उहाँले भन्नुभयो ।

श्रममन्त्री अर्यालले सहकारीमा आफनो २३ लाख रुपैयाँ डुबेको समेत बताउनुभयो । एक करोड लगानी गर्नका लागि पहिलो किस्ता स्वरुप २३ लाख रुपैयाँ गरेको उहाँले बताउनु भयो । “कोभिड पछि नेपालमा कृषि क्षेत्रको सम्भावना देखे । त्यसैले सहकारीमा आबद्ध भए । त्यसपछि मैले एक महिना लगाएर सहकारीको वर्तमान अवस्था, गतिविधि र सम्भावनाको अध्ययन गरे । अध्ययन पछि ७० पृष्ठको प्रपोजल बनाएर सञ्चालक समितिमा पेश गरे । मेरो योजना समितिलाई गज्जब लाग्यो । तर, मलाई मेरो योजना अनुसारको नेतृत्व दिन आनाकानी गरियो । त्यसपछि मैले राजीनामा गरे,” उहाँले भन्नु भयो । तर, सहकारी छोडे पछि पनि आफनो लगानी फिर्ता नभएको उहाँले बताउनुभयो ।

सहकारीको उपाध्यक्ष नियुक्ती भए देखि राजीनामा दिएसम्मको अवधिमा आफुले कुनै पनि कारोबार नगरेको पनि श्रममन्त्री अर्यालले स्पष्ट पार्नु भएको छ । “म सहकारीको उपाध्यक्ष रहँदाको अवधिमा एक पटक हस्ताक्षर गरेको छु । त्यो पनि आफु उपाध्यक्ष भएको हो भन्नका लागि । त्यो बाहेक अन्य कारोबार कै लागि कहि कतै हस्ताक्षर गरेको छ्रैन,” उहाँले स्पष्ट पार्नुभयो । सहकारीका रजिष्ट्रारको रोहबरमा नै आफुले सहकारीको उपाध्यक्ष पदबाट राजीनामा दिएको उहाँले बताउनुभयो ।

विगत केही दिन दिन विभिन्न सञ्चारमाध्यम मन्त्री अर्याल पनि सहकारी ठगीमा संलग्न भएको समाचार सम्प्रेण भएको छ । यस्ता समाचार प्रति आपति जनाउँदै मन्त्री अर्यालले सुचनालाई प्रमाणित गर्ने आधार पेश गर्न आग्रह गर्नुभएको छ । “मैले ठगेको हो भने प्रमाण पनि राख्नुस । अन्यथा कुनै कालखण्डमा सहकारीमा आवद्ध भएकै कारण ठग हो भन्ने कसैलाई छुट छैन,” उहाँले भन्नु भयो । त्यसैले आरोप लगाउनु पूर्व एक पटक अध्ययन गरेर मात्रै लेख्न र बोल्न उहाँले आग्रह गर्नुभयो ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले हाम्रो नयाँ कृषि सहकारीलाई गत फागुन ११ समस्याग्रस्त घोषणा गरेको हो । सहकारीको ठगीमा संलग्नहरुको छानबिनको लागि मन्त्रालयले केन्द्रिय अनुसन्धान व्यूरोलाई सिफारिश गरेको छ भने सहकारीको सम्पति र दायित्व व्यवस्थापनको जिम्मा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई दिएको छ ।

मन्त्रालयको सिफारिश पछि समितिले सहकारीको महाराजगन्ज स्थित कार्यालय सिल गरेको छ । सहकारीमा हालसम्म ३४ जनाले ४ करोड ५० लाख माग दाबीको उजुरी गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*