अख्तियार र सम्पत्ति शुद्धीकरणको छानविनमा परेका शाक्यको नेतृत्वमा नयाँ बजेट बनाउँदै अर्थमन्त्री पुन, विवादमा पर्ने जोखिम

२५ चैत्र २०८०, आईतवार १०:०५

काठमाडौं । करिब डेढ महिना अघि नियुक्त भएका अर्थमन्त्री वर्षमान पुन यतिबेला नयाँ बजेट र लगानी सम्मेलन सफल पार्न अहोरात्र खटिइरहेका छन् । तर, भ्रष्टाचारीहरुको जालो चिर्न नसक्दा आगामी वर्षको लागि निर्माण हुने बजेट समेत विगतका सरकारहरुको पालामा जस्तै विवादमा पर्ने देखिएको छ । रोचक र आश्चर्यजनक कुरा के छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरणले छानविन गरिरहेका व्यक्तिलाई अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आव २०८१।०८२ को बजेट बनाउने जिम्मेवारी सुम्पिएका छन् । अब प्रश्न उठ्छ बजेट कस्तो बन्ला ?

अर्थमन्त्री पुनले अर्थमन्त्रालय सम्हालेपछि पहिलो पटक सह–सचिवहरुको सरुवा गर्ने क्रममा बजेट महाशाखाको जिम्मेवारी रितेश शाक्यलाई दिएका थिए । मन्त्री पुनले सह–सचिव शाक्यलाई बजेट निर्माण समितिका उप संयोजक समेत बनाएका छन् । शाक्य तिनै पात्र हुन जो अर्थमन्त्रालयमा सर्वाधिक विवादमा परेका र भ्रष्टाचारको आरोपमा संवैधानिक निकायले छानविन गरिरहेका व्यक्ति हुन् ।

प्रतिनिधिसभा अन्तर्गतको लेखा समितिले २०८० पुस १२ गते बसेको बैठकले नेपाल धितोपत्र बोर्डबाट प्रिमियम मूल्यमा आईपिओ जारी गर्ने कार्य भ्रष्टाचार भएको भन्दै कारवाही गर्न अख्तियार समक्ष सिफारिस गरेको थियो । लेखा समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल र तथा सो घटनामा संलग्न व्यक्तिहरुलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग दुवैलाई कारवाही गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । नेपाल धितोपत्र बोर्डमा सो घोटाला हुँदा सञ्चालक समितिमा रितेश कुमार शाक्यले अर्थमन्त्रालयको प्रतिनिधित्व गरेका थिए । सो आधारमा शाक्य अख्तियार र सम्पत्ति शुद्धिकरणको छानविनमा परेका व्यक्ति हुन रितेश शाक्य ।

 

यसबाहेक उनले थुप्रै काण्ड अर्थमन्त्रालयमा मच्चाएका छन् । कुपण्डोलस्थित प्रिन्सेललाई मदिराले अन्तशुल्क स्टीकर छपाईमा घोटाला गरेको आरोपमा समेत अख्तियारले छानविन गरिरहेका व्यक्ति हुन रितेश शाक्य । उतिबेला तत्कालिन जनार्दन शर्माले शाक्यलाई आन्तरिक राजश्व विभागको महानिर्देशक बनाएका थिए । अर्को रोचक कुरा के भने यसअघि माओवादीबाट अर्थमन्त्री बनेका जनार्दन शर्माले मच्चाएको भ्रष्टाचार काण्डहरुको सेटिङको केन्द्रबिन्दुमा रितेश शाक्य नै थिए । जनार्दन शर्माको पालामा भएका काण्डहरुको अहिले अख्तियारले धमाधम छानविन अघि बढाउँदै जाँदा रितेश मुछिँदै गएका उनै शाक्यलाई नयाँ अर्थमन्त्री पुनले पनि निर्धक्क जिम्मेवारी दिइरहेका छन् ।

गत फागुन १५ गते सार्वजनिक लेखा समितिले धितोपत्र बोर्ड लगायतका भ्रष्टाचार भएका सम्बन्धमा छानविन गर्न दिएको निर्देशनका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईसँग छलफलको क्रममा बोलाएर छलफल गरेको थियो । सो छलफलको क्रममा प्रमुख आयुक्त प्रेम राईले स्पष्ट रुपमा भनेका थिए, ‘धितोपत्र बोर्डको सम्बन्धमा छानविन भइरहेको छ ।’

धितोपत्र बोर्डका हालसम्म पनि सञ्चालक उनै रितेश शाक्य छन् । भ्रष्टाचारी भनेर अख्तियारले छानविन गरेका व्यक्तिलाई इमान्दार अर्थमन्त्री हुन्थे भने अर्थमन्त्रालय भन्दा बाहिर राखेर प्रमाण नष्ट हुनबाट जोगाउने र बेथितीलाई नियमन गर्ने कार्यमा सहयोग गर्ने थिए । तर, दश वर्षे जनयुद्धमा गठन भएको जनमुक्ति सेना नेपालका डेपुटी कमाण्डर भएर जनताको पक्षमा काम गर्ने बाचा गरेर शान्तिपूर्ण राजनीतिमा आएका माओवादीका नेता तथा अर्थमन्त्री पुनले अख्तियारले छानविन गरिरहेको घटनामा जोडिएका विवादित र भ्रष्ट व्यक्तिलाई बजेट बनाउने जिम्मेवारी दिएर पार्टी र आफ्नो इमानमाथि प्रश्न चिन्ह उठाउने कार्य गरेका छन् ।

प्रश्न उठेको छ, भ्रष्टाचारको आरोपमा छानविन परेका र सर्वाधिक विवादित व्यक्तिलाई अर्थमन्त्री पुनले किन जिम्मेवारी दिइरहेका छन् ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*