१६ महिनामा सूर्यज्योति लाइफको १०३ शाखा बन्द, बीमितहरु अन्यौलमा

पुरुषोत्तम नेपाल
२६ चैत्र २०८०, सोमबार ०९:३०

काठमाडौं । सुर्यज्योति लाइफले पछिल्लो एक वर्षको अवधीमा देशैभरिका १०३ वटा शाखा कार्यालय बन्द गरेको छ ।

खर्च कटौतिको नाममा मर्जर पछिको करिब एक वर्ष चार महिनामा राजधानी काठमाडौंसहित विकट जिल्लामा समेत गरी एक सय दुई वटा शाखा कार्यालय बन्द गरेको हो । शाखा कार्यालय बन्द भएपछि सेवाग्राहीहरुले पाउने बीमा सेवा समस्यामा परेको छ ।

नेपाल बीमा प्राधिकरणको तथ्याङ्कमा समेत सुर्यज्योति लाइफको पछिल्लो १६ महिनामा १०२ वटा शाखा कार्यालय बन्द गरेको तथ्याङ्कमा देखिएको छ । त्यस्तै आगामी बैशाख १ गतेदेखि थप एक शाखा कार्यालय बन्द हुनेछ ।
२०७९ साल पुस ८ गते सुर्या लाइफ र ज्योति लाइफ आपसमा मर्ज हुँदा कूल शाखा कार्यालयको संख्या २७९ वटा पुगेको थियो ।

जस मध्ये सुर्या लाइफको १४९ शाखा थिए भने ज्योति लाइफको १३० वटा शाखा तथा उप शाखा कार्यालयहरु रहेका थिए । अब बाँकी कूल १७७ वटा मात्रै सञ्चालित रहेका छन् । बैशाख १ गतेदेखि थप शाखा कार्यालय बन्द भई १७६ वटा शाखा कार्यालय बाँकी रहनेछन् ।

नेपाल बीमा प्राधिकरणको तथ्याङ्कमा समेत उल्लेखित शाखा कार्यालयहरुको विवरण रहेको थियो । पछिल्लो पटक सबैभन्दा धेरै सुर्या लाइफका शाखा कार्यालयहरु बन्द गरिएका छन् । मर्जर प्रक्रियादेखि विवादमा आएको कम्पनीले १६ महिना अवधिमा खर्च धान्न नसकेर सय भन्दा बढी शाखा कार्यालय बन्द गरिसकेका छन् ।
मर्जरपछि कम्पनीको एक सयभन्दा बढी शाखा कार्यालय बन्द हुँदा डेढसय भन्दा बढि कर्मचारीहरु रोजगारविहीन भएका छन् ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सका सूचना अधिकारी उमेश प्रसाद मैनालीले शाखा कार्यालय गाभिएकै कारणले कम्पनीले अभिकर्ता तथा कर्मचारीलाई अपदस्थ गर्न नमिल्ने र नगरेको बताए । उनले शाखा कार्यालय गाभिदा अभिकर्ता तथा कर्मचारीले साधारणतया बनेको नयाँ शाखाबाट पनि काम गर्न पाउने भएकाले अपदस्थ भएकै हुन्छ भनेर ग्यारेन्टीका साथ भन्न नसकिने बताए ।

मर्जरपछि गरिएको शाखा बन्द गरिएका कारण सयौं कर्मचारीहरु बाहिरिएका छन् । मर्जर अघि ७७८ जना कर्मचारी मध्ये ८० जनाले तत्कालै राजिनामा दिएर बाहिरिएका थिए ।

तर, कम्पनीले भने विधि पुर्याएरै कर्मचारीहरुले कम्पनी छोडेको जनाएको छ । ‘कतिपयले ब्रान्च मर्ज नहँुदा पनि अन्य पेशामा आवद्ध भएर कम्पनी छाडेका छन्, कतिपयले भिआरएस लिई स्वेच्छाले कम्पनी छाडेका पनि छन् । हामीले ब्रान्च मर्ज हुँदा एक शाखामा बढी भएका कर्मचारीलाई अन्य आवश्यक शाखामा व्यवस्थापन गरेका छौं ।’ मैनालीले भने ।

सूचना अधिकारी मैनालीले एकै ठाउँमा एकभन्दा बढी शाखा कार्यालय भएकाले गाभ्नुपरेको बताए । दुबै कम्पनीको शाखा कार्यालय नजिक नजिक हुँदा प्रडक्टिभ नहुने भएकाले शाखा कार्यालयलाई प्रडक्टिभ बनाउन र कर्मचारी व्यवस्थापन गर्न मर्ज गरिएको बताए ।

सूर्या लाईफ इन्स्योरेन्स लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स लिमिटेड मर्ज भएर २०७९ पौष ७ गतेदेखि एकीकृत कारोबार थालेसँगै २७९ वटा शाखाहरु मध्ये १०२ वटा शाखा कार्यलय मर्ज भएका छन् ।

कम्पनीले एकीकृत कारोबार थालेका दिनदेखि लागु हुनेगरी सूर्या लाइफका ९८ शाखा कार्यालयहरु ज्योति लाइफका शाखा कार्यालयसँग गाभिएर एकीकृत कारोबार थालेको थियो ।

तत् पश्चात् गत असोज १ गतेदेखि लागु हुनेगरी कम्पनीका पाँच वटा शाखा कार्यालय गाभिएका छन् । जसमा सबैला शाखा, बागमती शाखा, नयाँपुल शाखा, सिमलटारी शाखा र बेलौरी शाखा रहेका छन् । कम्पनीले पुनः २०८१ वैशाख २ गतेदेखि लागू हुनेगरी खाडिचौर शाखा कार्यालय बनेपा शाखा कार्यालयसँग गाभ्ने निर्णय गरेको छ । यससँगै थप शाखाको संख्या घटेर १७६ वटा कायम हुनेछ ।

One thought on “१६ महिनामा सूर्यज्योति लाइफको १०३ शाखा बन्द, बीमितहरु अन्यौलमा

  1. Manoj k c says:

    कम्पनि मर्ज भए पछि शाखा पनि मर्ज भए तेसैलाई यस्ताे बनाएर समाचार लेखेकाे छ तपाई हामीले आफै बुझ्नु पर्छ समाचार लेख्दैमा हाेकि जस्ताे लागे पनि गलत हाे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*