राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ नैतिक संकटमा !

२७ चैत्र २०८०, मंगलवार १६:०४

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ गम्भीर नैतिक संकटमा परेका छन् । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि  गठित छनोट समितिका संयोजक रहेको डा. श्रेष्ठ आर्थिक वृत्तमा उच्च नैतिकवान भनेर चिनिएका अर्थविज्ञ हुन् ।

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. श्रेष्ठ यसअघि २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री भएको बेलामा समेत राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए । उतिबेला श्रेष्ठले विवादित काममा हात हालेका थिएनन् । यस पटक भने कसको इसारामा कसरी भ्रष्टाचारी भनेर डाम्नै ठिक्क पारिएको व्यक्तिलाई छनोट गर्न पुगे भनेर स्पष्ट हुन बाँकी छ ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि पाँच जनाको सर्टलिष्ट  चैत्र २५ गते प्रकाशित भएको छ । सो सर्टलिष्टमा समावेश गरिएका व्यक्ति मुक्ति श्रेष्ठ अख्तियारको छानविनमा परेका व्यक्ति हुन् । नेपाल धितोपत्र बोर्डमा पछिल्लो तीन वर्षमा भएका भ्रष्टाचार तथा नीतिगत भ्रष्टाचारमा प्रत्यक्ष संलग्न भएका मुक्ति श्रेष्ठको नाम डा. मिन बहादुर श्रेष्ठको संयोजकत्वमा गठित समितिले चौथो नम्वरमा प्रकाशित गरेको छ । अख्तियार छानविन गरिरहेको र भ्रष्टाचारजन्य कार्यमा संलग्न व्यक्तिलाई छनोट गरेपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गम्भीर नैतिक संकटमा फस्न पुगेका हुन् ।

नेपाल राष्ट्र बैंकमा काम गरेको भएपनि अन्य कर्मचारी तथा निर्देशकहरु जस्तो भ्रष्टाचारी थिएनन् । डा. श्रेष्ठ अर्थतन्त्रका कुशल अनुसन्धानकर्ता समेत हुन् । उनले सन् २००६ देखि २००९ सम्ममा सिनियर अर्थशास्त्री र २०१४ देखि २०१५ मा भिजिटिङ अनुसन्धान अर्थशास्त्रीको रुपमा साउथ इष्ट एशियन सेन्ट्रल बैंकमा काम गरेका अनुभवी र एकेडेमिक व्यक्तित्व हुन् । उच्च नैतिकवान व्यक्तिले इमानमाथि नै दाग लाग्ने गरी भ्रष्टाचारीको नाम सिफारिस गर्नुको साटो पदबाट राजिनामा दिएको भए उत्तम हुने चर्चा आर्थिक क्षेत्रमा चल्न थालेको छ ।

उपाध्यक्ष श्रेष्ठमाथि प्रश्न उठेको छ, भ्रष्टाचारको आरोपमा छानविन भइरहेको व्यक्तिलाई धितोपत्र बोर्डको अध्यक्ष चुन्ने सर्टलिष्टमा पारेका उनले योजना बाँडफाँडमा पनि कतै पक्षधरता लिने त गर्दैनन् ?  राष्ट्रिय योजना आयोगमा बसेर जनतालाई समान वितरणको एजेण्डामा काम गर्नुपर्नेमा उपाध्यक्ष श्रेष्ठले राजनीतिक र विभिन्न भ्रष्टाचारीहरुको सेटिङमा अध्यक्ष बन्न खोजिरहेका मुक्ति श्रेष्ठलाई सर्टलिष्टमा छनोट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भ्रष्टाचारमा संलग्न व्यक्ति भनेर सूचना पाएर पनि उपाध्यक्ष श्रेष्ठले मुक्ति श्रेष्ठलाई अन्तर्वार्ता दिने सूचीमा पारेको देखिएको छ । बीमापोष्टले भ्रष्टाचारको आरोपमा छानविनमा परेको व्यक्तिलाई धितोपत्र बोर्डको अध्यक्षको सर्टलिष्टमा नाम प्रकाशित गर्नुभएछ अब तपाईले बनाउने योजनाहरुमा पक्षधरता हुँदैन भनेर कसरी विश्वास दिलाउनुहुन्छ भन्ने जिज्ञाशा राख्दा उपाध्यक्ष श्रेष्ठले कुनै प्रतिक्रिया जनाएनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*