आधा दर्जन कम्पनीको साधारण सभा आज, दुईले लाभांश दिने

२९ चैत्र २०८०, बिहीबार ०६:४७

काठमाडौं । आज (चैत्र २९ गते) विभिन्न ६ कम्पनीहरुको साधारण सभा बस्दैछ । तीमध्ये दुई कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछन् ।

समता घरेलु लघुवित्तले हाल कायम चुक्ता पूँजी ३९ करोड ४१ लाख ५५ हजार ८२१ रुपैयाँको ५.४२२२ प्रतिशत बोनस शेयर र ०.२८५४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव राखेको छ । साथै, कम्पनीले शेयर संरचना ७०ः३० (संस्थापकःसर्वसाधारण) कायम हुने गरी पुनः सर्वसाधारणलाई एफपीओ जारी गर्ने प्रस्ताव राखेको छ ।

प्रस्तावित लाभांश र एफपीओ पारित गर्न कम्पनीको सभा आज नमोबुद्ध बैक्वेट एण्ड इभेन्ट, बनेपा–७, काभ्रेपलाञ्चोकमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले चैत्र १९ गते बुक क्लोज गरिसकेको छ । नेप्सेमा चैत्र १८ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

मैलुङ्ग खोला जल विद्युत कम्पनीले चुक्ता पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँको २.२२११ प्रतिशत बोनस शेयर र ०.११६९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने घोषणा गरेको छ । घोषित लाभांश पारित गर्न कम्पनीको सभा आज लैनचौर ब्यांक्वेट, लैनचौर काठमाडौंमा विहान ११ बजेदेखि सुरु हुनेछ ।

सभा तथा लाभांश वितरणको प्रयोजनका लागि कम्पनीले चैत्र १६ गते बक क्लोज गरिसकेको छ । नेप्सेमा चैत्र १५ गतेसम्म कायम शेयरधनीे सभामा उपस्थित हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

सानिमा जीआईसी इन्स्योरेन्सले चुक्ता पूँजी दुई अर्ब रुपैयाँको २५ प्रतिशत बराबर ५० करोड रुपैयाँको हकप्रद शेयर जारी गर्ने प्रस्ताव राखेको छ ।

प्रस्तावित हकप्रद शेयर पारित गर्न कम्पनीको सभा अमृतभोग, कालिकास्थान, काठमाडौंमा विहान ११ बजेदेखि बस्दैछ । सभा प्रयोजनार्थ कम्पनीले चैत्र १५ गते बुक क्लोज गरिसकेको छ ।

यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले हाल कायम चुक्ता पूँजी एक अर्ब २३ करोड पाँच लाख रुपैयाँ बमोजिमको शेयर संख्या एक करोड २३ लाख पाँच हजार कित्ता शेयर बराबर १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ ।

यस निर्णयलाई पारित गर्न कम्पनीको सभा कालीमाटी ब्याङकेट, कालीमाटीमा विहान ११ बजेदेखि सभा बस्नेछ । यस कम्पनीले चैत्र ७ गते बुक क्लोज गरिसकेको छ ।

मनकामना स्मार्ट लघुवित्तको सभा होटल पौवा, सिद्धार्थनगर ६, रुपन्देहीमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।
सभाले गत आवको वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै, चालु आवका लागि लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीेले चैत्र १६ गतेदेखि बुक क्लोज गरिसकेको छ ।

हिमाल दोलखा हाइड्रोपावरको सभा सेलिब्रेशन हाईट, सुकेधारा, काठमाडौंमा विहान ११ बजेदेखि बस्नेछ । सभाले गत वर्षको वित्तीय विवरण पारित गर्नुका साथै, चालु आवका लागि लेखापरीक्ष नियुक्त गरि पारिश्रमिक निर्धारण गर्नेछ ।

स्वतन्त्र संचालकको नियुक्ती अनुमोदन गर्ने र संचालक समितिको बैठकभत्ता निर्धारण गर्ने एजेण्डा पनि रहेका छन् । सभा प्रयोजनार्थ यस कम्पनीले चैत्र १८ गते बुक क्लोज गरिसको छ । चैत्र १७ गतेसम्म कायम शेयरधनी सभामा उपस्थित हुन योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*