नयाँ वर्षको पहिलो दिनमै बीमा क्षेत्रमा देखियो निराशापन, २१ कम्पनीको शेयरमूल्य घट्यो

२ बैशाख २०८१, आईतवार १७:१०

काठमाडौं । शेयर बजारका लगानीकर्तालाई नयाँ वर्ष २०८१ ले समेत उत्साही बनाउन सकेन । कारोबार साताको पहिलो दिन अर्थात यो वर्षको पहिलो कारोबारको दिन शेयर बजार झिनो अंकले घटेको छ ।

आईतबार शेयर बजार २ दशमलव ३५ अंकले घटेर २०३३ दशमलव ३५ को विन्दुमा कायम भएको छ । शेयर बजारमा तीन सय २० वटा कम्पनीको ७७ लाख ९५ हजार कित्ता शेयर खरिद–बिक्री हुदाँ तीन अर्ब ६ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ ।

नयाँ वर्षको पहिलो कारोबारमा बीमा क्षेत्रका दुईवटै उपसूचकहरुमा गिरावट आएको छ । जीवन बीमा उपसूचक ७१ दशमलव ८५ अंकले घटेर १०१५७ को बिन्दुमा कायम भएको छ । आइतबार जीवन बीमा अन्तर्गत १२ वटा कम्पनीमध्ये १० कम्पनीको शेयरमूल्य ह्वातै घटेको छ । नयाँ वर्षको शेयर कारोबारमा सूर्यज्योति लाइफ र एलआईसी नेपालको शेयरमूल्य मात्र बढेको छ । यी बाहेक अन्य कम्पनीको शेयरमूल्य घटेर राताम्मे बनेका छन् ।

आइतबार नन लाइफ इन्स्योरेन्स उपसूचक १ दशमलव ०३ प्रतिशत अर्थात १०९ अंकले घटेर १०४०९ दशमलव १० को विन्दुमा कायम भएको छ । नयाँ वर्षको पहिलो कारोबारमा बीमा क्षेत्रका ९० प्रतिशत कम्पनीको शेयरमूल्य घटेको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य मात्र बढेको छ । यी बाहेक बाँकी रहेका ११ वटा निर्जीवन बीमा कम्पनीको शेयरमूल्य घटेको छ । जसमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक घटेको छ ।

हिमालयन रि इन्स्योरेन्सको शेयरमूल्य ० दशमलव ४९ प्रतिशत अर्थात ३ अंकले बढेर ६१३ रुपैयाँमा कारोबार भएको छ ।

बीमा क्षेत्रका दुई कम्पनीको कारोबार टप टेनमा परेको छ । आइतबार हिमालयन रि इन्स्योरेन्सको ७ करोड ४४ लाख रुपैयाँ र सूर्यज्योति लाइफ इन्स्योरेन्सको ८ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*