१२ वाणिज्य बैंकका शेयरधनीले पाए लाभांश, ६ वटाले बनाए हात रित्तो

५ बैशाख २०८१, बुधबार १६:४३

काठमाडौं । २० वाणिज्य बैंकमध्ये हालसम्ममा १२ बैंकले गत आर्थिक वर्ष (आव) २०७९।८० सम्मको मुनाफाबाट लाभांश वितरण गरेका छन् । बाँकी रहेका बैंकहरुले शेयरधनीको हात रित्तो बनाएका हुन् ।

एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, स्ट्याण्डर्ड चार्टड बैंक, नबिल बैंक, सिटीजन्स इन्टरनेशनल बैंक, राष्ट्रिय बाणिज्य बैंक र सिद्धार्थ बैंकले गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका हुन् ।

गत वर्षको तुलनामा यस वर्ष केही बैंकले बोनस शेयरभन्दा नगद लाभांशमा जोड दिएका छन् । नबिल बैंकले गत वर्ष १८ दशमलव ५ प्रतिशत बोनस शेयर र ११ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेकोमा यस वर्ष ११ प्रतिशत नगद लाभांश मात्रै वितरण हो ।

यस वर्ष सिद्धार्थ बैंकले ४ दशमलव २१ प्रतिशत, सिटीजन्स बैंकले ५ दशलमव ७९ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश मात्रै दिएको छ । त्यसैगरी ग्लोबल आइएमई बैंकले १ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश दिएको छ ।

त्यस्तै नेपाल एसबिआई बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ६ दशमलव ८० प्रतिशत नगद लाभांश करसहित र ३ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गरेको छ ।

लक्ष्मी सनराइज बैंकले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गरेको छ । त्यसैगरी राष्ट्रिय बाणिज्य बैंकले भने ५ दशमलव ५ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको छ ।

लाभांश घोषणा गरेका कम्पनीहरूमध्ये सबैभन्दा बढी लाभांश एनआईसी एशिया बैंकको छ । बैंकले कुल ३० दशमलव ५३ प्रतिशत लाभांश दिने भएको छ । सर्वाधिक लाभांश दिने बैंकको सूचीमा दोस्रोमा एभरेष्ट बैंक छ । बैंकले कुल २० दशमलव ५३ प्रतिशत लाभांश दिने भएको छ ।

लाभांश घोषणा गरेका १२ बैंकमध्ये एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, सिटीजन्स बैंक, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायत अन्य बैंकले साधारणसभाबाट प्रस्तावित लाभांश वितरण समेत गरिसकेका छन् ।

६ बैंकले लाभांश नदिने

६ वाणिज्य बैंकले भने गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने जानकारी दिएका छन् । हिमालयन बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, नेपाल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले कुनै पनि लाभांश नदिने निर्णय गरेका हुन् । तीन बैंकले भने हालसम्ममा लाभांश घोषणा गरेका छैनन् । नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक र कृषि विकास बैंकले भने हालसम्ममा लाभांश घोषणा नगरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*