बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी ४% ले बढायो, कुन क्षेत्रमा कति ?

५ बैशाख २०८१, बुधबार १६:१७

काठमाडौं । चालु आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी ४.३ प्रतिशतले बढाएका छन्।साउनयताका ८ महिनामा बैंक तथा वित्तीय संस्थाले २ खर्ब ८ अर्ब कर्जा लगानी बढाएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

गत असारसम्म बैंक तथा वित्तीय संस्थाले ४८ खर्ब ७९ अर्ब कर्जा प्रवाह गरेकामा त्यस्तो रकम फागुन मसान्तमा आइपुग्दा ५० खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ।

व्यक्तिगत आवासीय कर्जा, सेयर धितो कर्जा, आयात कर्जा, व्यापारिक संस्थाको चालु सम्पत्ति व्यवस्थापनको लागि जाने कर्जा (क्यास क्रेडिट लोन) र निश्चित अवधिको कर्जा बढेको छ।

यो अवधिमा क्यास क्रेडिट लोन २४.६ प्रतिशतले बढेर ६ खर्ब ४३ अर्ब र निश्चित अवधिको कर्जा १५.९ प्रतिशतले बढेर १८ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ ।

८ महिनामा दुई करोडसम्मको व्यक्तिगत आवासीय कर्जा १०.४ प्रतिशतले बढेको छ । व्यक्तिगत आवासीय कर्जा लगानी फागुनसम्म ३ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ।

त्यसैगरी, सेयर धितो कर्जा १२.३ प्रतिशतले बढेर ८५ अर्ब ७० करोड र आयात कर्जा १२.५ प्रतिशतले बढेर ८२ अर्ब ७ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।

औद्योगिक व्यापारिक संस्थाको तत्कालको आवश्यकताका लागि जाने चालु पुँजीकर्जा, रियलइस्टेट कर्जा, हायर पर्चेज कर्जा र शैक्षिक कर्जा भने घटेको छ।

हायर पर्चेज कर्जा २०.७, शैक्षिक कर्जा १६.२, चालु पुँजी कर्जा १०.४ र रियलइस्टेट कर्जा ०.५ प्रतिशतले घटेको छ । चालु पुँजी कर्जा ७ खर्ब ८८ अर्ब, रियलइस्टेट कर्जा २ खर्ब ४८ अर्ब, सवारीसाधन खरिदका लागि जाने हायर पर्चेज कर्जा १ खर्ब २६ अर्ब र शैक्षिक कर्जा ४६ अर्ब ७९ करोड रुपैयाँमा खुम्चिएको छ ।

क्षेत्रगत आधारमा हेर्दा उत्पादनमूलक, निर्माण र विद्युतमा कर्जा बढेको छ । उत्पादनमूलक क्षेत्रको कर्जा ८.७ प्रतिशतले बढेर ८ खर्ब १८ अर्ब रूपैयाँ पुगेको छ। यो क्षेत्रमा स्टिल, आइरन, ढुंगा, गिट्टी, छापाखाना र खाद्य प्रशोधन तथा प्याकेजिङ पर्छन् ।

विद्युत क्षेत्रको कर्जा १२.२ प्रतिशतले बढेर ३ खर्ब ३२ अर्ब पुगेको छ ।
मदिरा, ह्यान्डिक्राफ्ट र रबर टायर उत्पादनमा जाने कर्जा भने घटेको छ । मेसिनरी र इलेक्ट्रिकल उपकरण खरिदमा जाने कर्जा ६.५ प्रतिशत र अन्य क्षेत्रमा जाने कर्जाको वृद्धिदर ६.१ प्रतिशतले नकारात्मक देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*