अनलाइन जुवाको अखडा बन्दै इ–सेवा, नियामक निकाय मूकदर्शक हुँदा मौलाउँदै गैर कानुनी धन्दा !

दिपक विष्ट
१५ बैशाख २०८१, शनिबार ०८:००

काठमाडौँ । अनलाइन जुवा मार्फत रातारात धनी बन्ने मान्छेको प्रवृत्ति बढ्दै गएको छ । गैर कानुनी भनिएको अनलाइन जुवा खेल्ने नेपालीहरूको सङ्ख्या दिनप्रति दिन बढ्दो क्रममा रहेको छ । नेपाल राष्ट्र बैङ्कले गैर कानुनी भनेको अनलाइन सट्टाबाजी डिजिटल भुक्तानीमार्फत सामाजिक सञ्जालमा अकाउन्ट बनाएर कुनै पनि खेल भइरहेको समयमा त्यो खेलको पक्ष वा विपक्षमा नाफा कमाउने उद्देश्यले लगाइने बाजी हो । वान एक्स बेट जस्ता बेटिङ एप डाउनलोड गरेर अकाउन्ट बनाएपछि डिजिटल वालेटहरूमा दिइएको नम्बरमा सट्टाबाजी गर्ने रकम भुक्तानी गरिन्छ ।

पछिल्लो ९ महिनामा अनलाइन जुवा खेल्ने कार्यमा सङ्कलन ३१ जना व्यक्ति प्रहरी नियन्त्रणमा परेका छन् । प्रहरीका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा अनलाइन गेम र अनलाइन बेटिङ सम्बन्धी कार्यक्रममा सङ्कलन ३१ जना व्यक्ति पक्राउ परेका हुन् ।

जसमध्ये अनलाइनबाट अवैध कारोबार गरी रहेका ३ जना, क्रिकेट ग्राउन्डमा बसी अनलाइन बेटिङ गरिरहेका ६ जना, क्यास एप अकाउन्ट बाट बैङ्किङ गर्ने १२ जना, वान एक्स बेट मार्फत सट्टेबाजी गर्ने १ जना, क्यास एप अकाउन्टबाट सट्टेबाजी गर्ने ३ जना र अनलाइन गेमिङ सट्टाबाजी गर्ने ६ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त पक्राउ परेका ३ करोड १० लाख २० हजार ७३३ रुपैयाँ समेत नियन्त्रणमा लिएको छ । अधिकांश पक्राउ गर्नेहरूबाट रकम नखुलेको प्रहरी प्रवक्ता भीम प्रसाद ढकालले बताए । कानुनी दायराबाट बच्नका लागि अनलाइन बेट गराउनेहरूले अरूको नागरिकता फर्जी गरी विभिन्न कम्पनीका सिम कार्ड निकाल्ने अनि ती मोबाइल नम्बरबाट नयाँ नयाँ डिजिटल वालेट खोलेर अनलाइन बेट गराउने र हुन्डीमार्फत त्यो पैसा मिलाउने गरेको पाइएको ढकाले बताए ।

महिला भन्दा यसमा पुरुषको सङ्ख्या बढी रहेको बताए । ‘अनलाइन बेट गराउनेमा पुरुषको सङ्ख्या नै रहेको छ । चालु आर्थिक वर्षमा महिला एक जना पनि पक्राउ परेका छैनन् । यसमा १८ वर्षदेखि ३० वर्ष मुनिका पुरुषहरू रहेका छन्’ ढकालले भने ।

अनलाइन जुवा कारोबारको अखडा इ–सेवा

नेपाल सरकारले गैर कानुनी मानेको अनलाइन जुवाको कारोबार भुक्तानी सेवा प्रदाय इ–सेवाबाट हुने गरेको छ । इसेवाको प्रयोग गरी अनलाइन जुवा (बेटिङ) मा भइरहेको पाइएको हो । वानएक्सबेट मार्फत इ–सेवाको दुरुपयोग गर्दै अवैध कारोबार हुने गरेको छ ।

फुटबल, क्रिकेटलगायतका ठुला अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको नतिजामा राखिने सट्टेबाजीको रकम ई–सेवा मार्फत भुक्तानी हुने गरेको छ । सीआईबि उच्च स्रोतका अनुसार इ–सेवा लगायत भुक्तानी सेवाको प्रयोग सट्टेबाजहरुले गरिरहेको उजुरी गरेको बताइएको छ । ‘अनलाइन जुवामा इ–सेवा, खल्ती लगायतका भुक्तानी सेवाहरू प्रयोग भएको उजुरीहरू आउने गरेको छन् । भुक्तानी सेवा प्रदायको फितलो केवाइसीले यस्तो कार्य अझ बढ्दै गइरहेको छ । पछिल्लो समय भारतमा चली रहेको आइपिएलमा समेत नेपाली युवा बेट लगाउने गरेका छन् । जसका अगाडि प्रहरीको अनुसन्धान समेत पुग्न सकस परी रहेको छ । यस सबै अवैध धन्दाको कारोबार इ–सेवा नै प्रमुख हो’ स्रोतले भन्यो ।

तर, अवैध कारोबार गरी रहेको इ–सेवा शक्तिको आडमा यस्तो धन्दा रोक्न तिर अग्रसर भइको देखिँदैन । अनलाइन जुवा बारे बेला बेला इसेवालाई सोधपुछ गरे पनि प्रहरीको निर्देशनलाई समेत इसेवा बेवास्ता गर्दै आइरहेको छ । नागरिकता र फोटो प्रयोग गरे पनि केवाईसी भेरिफाइ गरेर इसेवाले अवैध भन्दामा सहज गरी रहेको छ । एउटै व्यक्तिले फर्जी नागरिकता बनाएर कयौँ पटक इसेवा आइटी खोलि रहेको देखिन्छ । इसेवा समेत कुनै कुरा चेकजाँच नगरी भेरिफाइ गर्दा यस्तो धन्दा मौलाउँदै गएको छ । नियमन गर्ने नसक्नु इसेवाको गल्ती प्रस्ट हुन आउँछ ।

वनएक्सबेटको वेबसाइटमा खाता खोलेपछि एजेन्टको सामु जुवा खेल्ने हो भनेपछि पेमेन्ट मेथडका रूपमा इसेवा पहिलो नम्बरमा छ । तर इसेवा नै हो भन्ने पुष्टि नहुने गरी हरियो रङ्गमा ’वालेट’ लेखिएको छ । यसै आइडिमा इसेवाबाट वनएक्सबेटमा पैसा कसरी जम्मा गर्ने सकिन्छ भनेर प्रक्रिया समेत खुलाएको देखिन्छ । बेटिङमा अवैध कारोबार गरी रहेको इ–सेवा क्रिप्टोजस्तो गैर कानुनी धन्दामा समेत संलग्न रहेको तथ्य बाहिर आउने गरेको छ ।

अवैध कार्यमा इसेवाको धन्दा रहेको प्रस्ट हुँदा समेत कानुनी दायरामा आउन सकेको छैन ।

प्रहरी अप्रेसन समेत फितलो, राष्ट्र बैङ्क मौन

गैर कानुनी अवैध धन्दा बेटिङ कार्यमा संलग्नलाई पक्राउ गर्ने समेत सकस परेको छ । काठमाडौँ उपत्यकामा प्रहरीले बेला–बेला यस्तो कार्यमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी रहेको छ । तर, पक्राउ गरी रहेको सङ्ख्या १० प्रतिशत पनि नहुने देखिएको छ । उपत्यका बाहिर बेटिङ धन्दा मौलाउँदै गएको छ । तेता प्रहरीको नजर जान सकेको छैन ।

प्रहरीहरूलाई छापा हानेपछि मात्र अनलाइन जुवा खेल्नहरु पक्राउ पर्ने गरेको प्रहरीका एक अधिकारीले बताए । उनले भने, ‘प्रहरी सबै क्षेत्रसम्म पुग्न सकेको छैन । हामी सूचनाको आधारमा पक्राउ गर्ने गरेका छौ । प्रायः बेटिङ खेली रहेको अवस्थामा पक्राउ गर्ने सकिँदैन । जब पैसा डिपोजिट हुन्छ सो बेला पक्राउ गरी रहेका हुन्छौँ । कसैको उजुरी भने पर्ने गरेको छैन’

हामीले अनलाइन बेटिङ गराउनेहरूले लक्षित समूहसम्म पुग्नका लागि खेलाडीहरूको तस्बिर राखेर विज्ञापन गरेर असुन्धान अघि समेत बढाइरहेको प्रहरी स्रोतले बताएको छ । ‘कहिले काही प्रहरी आफैले बेटिङ गरेर बेटिङ गराउने व्यक्तिसम्म पुगेको छ । भुक्तानी प्रणाली बुझ्दा इ सेवा नम्बरमा पैसा ट्रान्सफर गरिने गरेको देखिन्छ । सोही नम्बरलाई पछ्याउँदै हामी एजेन्टसम्म पुग्ने गरेका छौ’ ती अधिकारीले भने ।

गैर कानुनी धन्दा भएका बेटिङ खेलाउने र खेल्नेहरूले पैसा डुबे पनि उजुरी गर्ने गरेका छैनन् । देशभर यस्तो गैर कानुनी धन्दा हुँदा नियामक निकाय नेपाल सरकार देखि गृह मन्त्रालय मौन रहेको छ । गैर कानुनी भनिएको कार्य रोक्न गृह मन्त्रालय चुकेको प्रस्ट छ । बेटिङ खेली रहेका व्यक्तिहरूबाट एनसेल र एनटिसि कयौँ थान रजिस्टर नभएका सिम कार्ड, मानिसका नागरिकताको फोटोकपी र कयौँ इ–सेवा आइडि रहेको पाइन्छ । बैङ्कहरू समेत बेटिङको पैसा जम्मा गर्न सकिने भने पनि ठुलो रकम आउँदा पक्राउ गर्ने डरले इसेवा मार्फत भुक्तानी हुने गरेको छ ।

यता, राष्ट्र बैङ्कले बेला बेला अनलाइन जुवा खेल्ने काम अवैध रहेको बताउँदै आए पनि प्रभावकारी भूमिका भने खेल्न सकेको छैन । राष्ट्र बैङ्कले अनुमति दिएका वालेटहरूको यस्तो अवैध मौलाउँदै जाँदा नियमन हुन सकेको छैन । लाखौँ प्रयोगकर्ता अर्बौँ रुपैयाँ डलर सटही भएर ‘वानएक्स बेट’ एपमार्फत बिदेसिँदा नेपाल राष्ट्र बैङ्क भने मौन रहेको छ । न केन्द्रीय बैङ्कले यस सम्बन्धमा अध्ययन नै गतिलो गरेको छ ।

के हुन्छ बेटिङ गरे कारबाही ?

टिङ कार्यका संलग्नलाई नेपाल राष्ट्र बैङ्क ऐन २०५८ बमोजिम मुद्दा चलाइने प्रहरीले जनाएको छ । नेपालमा यसरी जुवा खेल्ने र खेलाउनेलाई ३ वर्ष जेल र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

मुलुकी अपराध संहिता अनुसार पहिलो पटक जुवा खेल्ने र खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । दोस्रो पटकदेखि जुवा खेल्न वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना लाग्नेछ । त्यसपछि पनि जुवा खेल्न र खेलाउने गरेमा ३ वर्षसम्म कैद र १० हजार जरिवाना तोकिएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*