वित्तीय सूचाङ्कमा नाजुक फाइनान्स दोस्रो बजारमा उच्च मूल्यमा कारोबार, लगानीकर्ताको आकर्षण कि माफियाको चलखेल ?

दिपक विष्ट
१६ बैशाख २०८१, आईतवार १८:३३

काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट हेर्दा अधिकांश फाइनान्सको वित्तीय सूचक सङ्कटमा रहेको छ । खराब कर्जा चुलिँदै जाँदा फाइनान्स कम्पनीको मुनाफामा भारी गिरावट देखिएको हो ।

वित्तीय सूचकमा खराब रहेका फाइनान्स कम्पनी शेयर बजारमा भने अब्बल प्रस्तुत भइरहेको छन् । अधिकांश सूचकमा फाइनान्स कम्पनीको पुच्छरमा रहेको पोखरा फाइनान्स शेयर बजारमा पछिल्लो समय भने अब्बल देखिन थालेको हो । वित्तीय रिपोर्टमा ओरालो गतिमा तिर अग्रसर पोखरा फाइनान्सको तेस्रो त्रैमासिक रिपोर्ट आएसँगै सकारात्मक सर्किट तिर अघि बढी रहेको छ । कम्पनीको आज मात्र २ लाख १० हजार १९ कित्ता शेयर किनबेच हुँदा १३ करोड ५ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक शेयर मूल्य बढ्ने र सर्वाधिक कारोबार हुनेमा पोखरा फाइनान्स नै पहिलो हो ।

अधिकांश सूचक खुम्चिदा समेत शेयर बजारमा भने किन अब्बल देखि रहेको छ भन्ने प्रश्न फाइनान्स कम्पनीको मूल्यमा उठ्न थालेको छ । फाइनान्स कम्पनीको शेयरमा आएको उछालले वाणिज्यहरूलाई पनि पछाडि धकलि रहेको छ । पछिल्लो समय वाणिज्य बैङ्कको शेयरमा लगानीकर्ता लगानी गर्न डराइ रहेका छन् । फाइनान्स भन्दा कयौँ गुणा अब्बल बैङ्कमा लगानीकर्ता लगानी गर्न पछि हटी रहेको छन् ।

क वर्गका बैङ्कहरूको शेयर अहिले १/२ सयमा रोकिएर बसेका छन् । आइतबारको शेयर मूल्य हेर्ने हो भने हाल नौ बैङ्कको शेयर २ सय मुनि र पाँच बैङ्क ३ मुनि कारोबार भइरहेका छन् । वाणिज्य बैङ्कहरूको सबैभन्दा कम कुमारी बैङ्कको १३५ रुपैयाँ र सबैभन्दा बढी स्ट्यान्ड चार्टर बैङ्कको ५२४ रुपैयाँ रहेको छ । निकै न्यून मूल्यमा आएको बैङ्कको शेयर किन्न तिर लगानीकर्ता सुस्त बनेका हुन् ।

किन बढ्दै छ फाइनान्सको शेयर ?

फाइनान्सको वित्तीय रिपोर्ट खराब हुँदा समेत बजार बढ्नु भनेको माफियाको चलखेल रहेको प्रस्ट हुने एक विश्लेषकले बीमापोष्टलाई बताए । ‘लगानीकर्ताले अहिले हचुवाकै भरमा लगानी गरेको देखिन्छ । वित्तीय रिपोर्टमा बलियो ठहरिएका कम्पनीको शेयर मूल्य निरन्तर ओरालो लागि रहेको बेला खराब वित्तीय सूचकमा लगानी गर्दा लगानीकर्ताको रकम गुम्ने पक्का जस्तै छ’ उनले भने ।

शेयर बजारमा मूल्यले नयाँ उचाइ पाइरहेको पोखरा फाइनान्स वितरणयोग्य नाफा ४५ करोड ८८ लाख ६२ हजार रुपैयाँ ऋणात्मक छ । लाभांश बाँड्ने सक्ने अवस्था नै ओरालो लागि रहेको बेला पोखरा फाइनान्सको सूचकमा आइरहेको आकर्षणले केही सीमित व्यक्तिको चलखेल रहेको प्रस्ट हुन्छ । पोखरा फाइनान्सको प्रतिशेयर आम्दानी २१.२३ रुपैयाँ ऋणात्मक, नाफा १८ करोड २९ लाख ऋणात्मक र खराब कर्जा चुलिँदै ७.९१ प्रतिशत पुगेको छ ।

गोर्खाज फाइनान्स वित्तीय सूचक समेत निकै खराब रहेको छ । शेयर बजारमा उछाल आइरहेको कम्पनी वित्तीय सूचक ओरालो लागे पनि लगानीकर्ता आकर्षण भने थपिएको देखिन्छ । यता, गोर्खाज फाइनान्सको वितरण योग्य नाफा ५९ करोड ४७ लाख रुपैयाँ ऋणात्मक, नाफा ४० प्रतिशतले घटेर ५ करोड ४८ लाख रुपैयाँ, खराब कर्जा ७.७३ प्रतिशतले बढेर १४.५० प्रतिशत र प्रतिशेयर आम्दानी ५.६३ रुपैयाँले घटेर ८.४३ रुपैयाँमा सीमित भएको हो ।

यता, वित्तीय विवरणमा धरापमा रहेको बेष्ट फाइनान्सको समेत वितरणयोग्य नाफा ३० करोड ८७ लाख ७२ हजार रुपैयाँ ऋणात्मक रहेको छ । बेष्ट फाइनान्सको प्रतिशत शेयर आम्दानी १.२५ रुपैयाँ, मुनाफा १ करोड २२ लाख रुपैयाँ र खराब कर्जा ४.३५ प्रतिशत पुगेको छ ।

वितरणयोग्य १२ कम्पनीको ऋणात्मक, कुनको कति ?

चालु आर्थिक वर्षको ९ महिनामा ३ फाइनान्सले मात्र वितरणयोग्य नाफा रहेको छ । अन्य १२ कम्पनीको भने ऋणात्मक अवस्थामा रहेको छ । यस अवधिमा वितरणयोग्य नाफा श्री इन्भेस्टमेन्टको ३५ करोड २ लाख रुपैयाँ, मल्टीप्रपोज फाइनान्स १ करोड १४ लाख रुपैयाँ र मञ्जु श्री २ करोड ८ लाख रुपैयाँ रहेको छ ।

वितरणयोग्य नाफा नेपाल फाइनान्स २२ करोड १० लाख रुपैयाँ ऋणात्मक, गुडबिल फाइनान्स २० करोड ६८ लाख रुपैयाँ ऋणात्मक, सेन्ट्रल फाइनान्स १५ करोड ४३ लाख रुपैयाँ ऋणात्मक, जानकी फाइनान्स ४५ करोड ७७ लाख रुपैयाँ ऋणात्मक, समृद्धि फाइनान्स ५३ करोड ६१ लाख रुपैयाँ ऋणात्मक, गुह्येश्वरी मर्चेन्ट ६ करोड १७ लाख रुपैयाँ ऋणात्मक, आइसिएफसि ८ करोड १८ लाख रुपैयाँ ऋणात्मक, प्रोगेन्सिभ फाइनान्स ४० करोड ४३ लाख रुपैयाँ ऋणात्मक, रिलायन्स फाइनान्स ३१ करोड ३१ लाख रुपैयाँ ऋणात्मक रहेको छ । लाभांश दिने क्षमता नै ऋणात्मक अवस्था रहेको फाइनान्स कम्पनीको शेयर मूल्य बढ्नु चलखेलको सङ्केत हो ।

अन्यको सूचक समेत नाजुक

फाइनान्सको शेयर बढ्ने कुनै कारण नै छैन !

फाइनान्स कम्पनीको शेयर मूल्य बढ्नु पर्ने कुन कारण नै नरहेको लगानीकर्ता छोटेलाल रौनियारले बताए । ‘फाइनान्सको शेयर मूल्य क वर्गको बैक भन्दा माथि उठेको छ । चुक्ता पुँजी र हकप्रद ल्याउने यस्ता कुनै कुरा समेत छैन’ उनले भने, ‘म आफै अचम्ममा पारी रहेको छु । किन बढी रहेको छ भन्नेमा । नो क्याप भएका कम्पनीका केही झुम्मिछन् लगानीकर्ता किन कि दुई चार लाख कित्ता किनेपछि भाउ बढाउ मिल्छ । त्यो कारण बाहेक अन्य बढ्नु पर्ने कुनै कारण छैन ।’

लगानीकर्ताले कम्पनीका हरेक सूचक हेरेर मात्र लगानी गर्ने उनले आग्रह गरे । ‘लगानीकर्ताले कम्पनीको सबै सूचक हेरेर लगानी गर्नु पर्छ । नबुझी लगानी गर्दा अर्बौँ रकम गुम्ने डर हुन्छ’ उनले भने ।

वित्तीय सूचकमा खराब अवस्थामा रहेको फाइनान्समा सकारात्मक सर्किट लाग्नु भनेको चलखेल रहेको एक ब्रोकरले बताए । उनले भने, ‘फाइनान्सका लगानी गर्नु पर्ने कुनै कारण नै छैन । अधिकांश सूचक खुम्चिएका छन् । यस्तो बेला शेयर बजार बढ्नु भनेको केही सीमित व्यक्तिले चलखेल गरेको हुन सक्छ ।’

फाइनान्समा केही सीमित व्यक्तिले खेलेर स–साना लगानीकर्तालाई डुबाउने खेल भइरहेको उनले बताए । ‘अहिले स–साना लगानीकर्ता फाइनान्स कम्पनीको शेयर बढेको देखेर त्यही तिर लागेका छन् । लगानीकर्ता आफैले पनि बुझ्नु पर्छ । केही सीमित व्यक्तिले खेलेर यो साना लगानीकर्ता डुबाउने अवस्था देखिएको छ’ उनले भने ।

 

One thought on “वित्तीय सूचाङ्कमा नाजुक फाइनान्स दोस्रो बजारमा उच्च मूल्यमा कारोबार, लगानीकर्ताको आकर्षण कि माफियाको चलखेल ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*