नेशनल लघुवित्त पनि एनसीएचएलमा आवद्ध

१७ बैशाख २०८१, सोमबार १३:२८

काठमाडौँ । नेशनल लघुवित्तले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्ने भएको छ।

एक औपचारिक कार्यक्रममा दुई संस्थाबीच सम्झौता भएको छ। सम्झौता पत्रमा नेशनल लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादव र एनसिएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौता पश्चात नेशनल लघुवित्तको आन्तरिक प्रणालीलाई एनसिएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपिआइ) सँग जोडी विभिन्न भुक्तानी उपकरणहरू प्रयोग गर्न सक्नेछन्।

यस अन्तर्गत नेशनल लघुवित्तले एनसिएचएल–आइपिएस र आरपिएस प्रणालीहरूमार्फत् आफ्ना बचत निक्षेप, कर्जाको किस्ता भुक्तानी लगायतका विभिन्न संकलनका करोबारहरू तथा तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानीसम्बन्धी कारोबारहरू आफ्ना तथा लाभग्राहीहरूका बैंक खातामा सोझै गर्न सक्नेछन्।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रूपमा विकास गरिएको एनपिआइमा हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरू आबद्ध छन् भने अन्य पिएसपीरपिएसओ, रेमिटेन्स कम्पनीहरू, लघुवित्त, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरू लगायतका १०० भन्दा बढी गैर—बैंकिङ संस्थाहरू इन्डाइरेक्ट/प्राविधिक सदस्यका रूपमा आबद्ध छन्।

सन् २०१४ जुन ११ मा सञ्चालन सुरू गरेको नेशनल लघुवित्तले आफ्नो ९० भन्दा बढी शाखाहरूमार्फत् लघुवित्तका ग्राहकहरूलाई बचत तथा ऋण प्रदान गर्ने, माइक्रो बीमा तथा रेमिटेन्स लगायतका सेवाहरू प्रदान गर्दै आइरहेको छ। नेपाल क्लियरिङ हाउससँगको यस सहकार्यले लघुवित्तको डिजिटल यात्रामा विशेष सहयोग हुने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*