आइपीओ जारी गर्न लागेको अर्घाखाँची सिमेन्टको आम्दानीमा पहिरो, एक वर्षमा साढे पाँच अर्बको व्यापार

२० बैशाख २०८१, बिहीबार १०:५९

काठमाडौँ । आइपीओ निष्कासन गर्ने तयारीमा रहेको अर्घाखाँची सिमेन्टको व्यापारमा पहिरो गएको छ । सार्वसाधारणका लागि आइपीओ जारी गर्ने प्रक्रियामा रहेको कम्पनीको आम्दानी खुम्चिएको हो ।

सन् २०२३ मा कम्पनीको व्यापार २४.९४ प्रतिशतले घटेर ५ अर्ब ७७ करोड २० लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीले सन् २०२२ मा भने ७ अर्ब ५८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले जनाएको छ ।

सन् २०२२ कम्पनीको व्यापार सन् २०२१ को तुलनामा पनि १३ प्रतिशतले घटेको छ । कम्पनीले सन् २०२१ मा ८ अर्ब ७० करोड ४० लाख रुपैयाँको व्यापार रहेको हो । साथै, कम्पनीले सन् २०२० मा ७ अर्ब ३८ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ ।

त्यस्तै, कम्पनीले चालु आर्थिक वर्षको आठ महिनामा भने ३ अर्ब ३६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको इक्रा नेपाल जनाएको छ । कम्पनीले अन्तराष्ट्रिय व्यापारमा आफ्नो पकड बनाउन नसक्दा ब्यापार खुम्चिएको हो । पछिल्लो समय नेपालमा विकास निर्माणका भइरहेको ढिलासुस्तीमा अन्य सिमेन्टहरुले भारतमा आफ्नो बजार बनाउँदै लगि रहेका छन् ।

सन् १९९८ मा स्थापना भएको डाइनेस्टी इन्डस्ट्रिज नेपाल प्रालिको नाम परिवर्तन भई २०११ जुनमा अर्घाखाँची सिमेन्ट प्रालि भएको थियो । २०२१ जुलाईमा पब्लिक कम्पनी बनेपछि यसको नाम अर्घाखाँची सिमेन्ट लिमिटेड भएको हो ।

अर्घाखाँचीको वार्षिक जडित क्षमता १० लाख टन हो । सिमेन्ट कारखाना रुपन्देहीमा छ । यसले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीमा सिद्धार्थ ग्रुपको ३५ प्रतिशत, मुरारका ग्रुपको ३० प्रतिशत, केडिया ग्रुपको १७.५ प्रतिशत र भारती कम्पनी उमा सिमेन्ट इन्टरनेसनलको १७.५ प्रतिशत लगानी छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*