बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालद्धारा पटक पटक नागरिकता सच्याएको खुलासा, नागरिकता र पासपोर्टको जन्म मिति मिलेन

१० बैशाख २०८०, आईतवार १७:२१

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नागरिकतामा पटक पटक जन्म मिति संशोधन गरी केरमेट र जालझेल गरेको तथ्य फेला परेको छ । नियामक निकायमा बसेर कानुनको गलत व्याख्या गर्दै आएका प्राधिकरणका अध्यक्ष सिलवालले पदीय शक्तिको दुरुपयोग गर्दै कम्तीमा दुई पटक नागरिकता संशोधन गर्दै फरक फरक निकायमा फरक फरक जन्म मितिका नागरिकताहरु पेश गरिएको तथ्य फेला परेको हो ।

बीमापोष्टलाई प्राप्त कागजातमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालले नागरिकता र पासपोर्टमा दुई वर्षको फरक फरक जन्म मिति राखेर बनाएको तथ्य स्पष्ट भएको छ । गृह मन्त्रालयका पूर्व सचिव रहेका सिलवालले पछिल्लो समय सन् २०१५ पछि गृह मन्त्रालयमा सचिव भएको बेला समेत आफ्नो नागरिकता संशोधन गरेको पाइएको हो ।

पर्सा जिल्लाको अलौमा जन्मिएका सूर्य प्रसाद सिलवालको पछिल्लो पटक चलन चल्तीमा रहेको नागरिकता नं २६०–९९७३ हो । अर्थ मन्त्रालयमा हाल कायम रेकर्डमा उनको सोही नयाँ नागरिकता समावेश छ । सो नागरिकता अनुसार सूर्य प्रसाद सिलवालको जन्म २०१६ साल कार्तिक २२ गते भएको हो । अध्यक्ष सिलवालले निर्वाचन आयोगमा नागरिकताकै आधारमा गरेको मतदाता नामावली दर्तामा समेत उनको जन्म मिति नयाँ नागरिकता अनुसार अर्थात २०१६।०७।०२२ नै रहेको उल्लेख छ ।

 

तर, अध्यक्ष सिलवालले राहदानी विभागबाट लिएको राहदानी नं ०९०४००७६ मा उनको जन्म स्थान पर्सा र जन्म मिति नोभेम्वर ९, १९६१ अर्थात २०१८ साल कार्तिक २४ गते उल्लेख छ । उनले सोही पासपोर्ट प्रयोग गरेर केही अघि विदेश यात्रा समेत गरेको खुलेको छ । उनको नागरिकता र पासपोर्टमा दुई वर्ष दुई दिन जन्म मिति फरक रहेको छ ।

प्राधिकरणका अध्यक्ष सिलवालले सन् २०१५ को ३१ जुलाईमा राहदानी लिँदा पुरानो अर्थात २०१८ साल कार्तिक २४ गते जन्म मिति भएकै नागरिकता बहाल रहेको थियो । राहदानी विभागको तथ्याङ्कमा सूर्य प्रसाद सिलवालले सोही मितिको नागरिकता पेश गरेर राहदानी लिएका थिए । गृहसचिव भएकै बेला उनले शैक्षिक योग्यताको प्रमाणपत्रसँग मेल नखाएपछि संशोधन गरेको हुनसक्ने देखिएको छ ।

राहदानी र नागरिकतामा जन्म मिति दुई वर्ष फरक पर्नुका पछाडि सचिवबाट अवकास लिएपछि पनि कुनै न कुनै सार्वजनिक पद धारण गर्न पाइरहने उद्देश्य लिएको देखिएको छ । गृहमन्त्रालयमा सचिव हुँदा उनले नागरिकता संशोधन गरेको पाइएकोले सिलवालले गृहसचिवको पद दुरुपयोग गरेर व्यक्तिगत स्वार्थको लागि लाभ लिएको पुष्टि हुन आएको छ ।

बीमा ऐनको दफा ८ को उपदफा (ख) मा उच्च नैतिक चरित्र भएको व्यक्ति मात्रै बीमा प्राधिकरणको अध्यक्ष हुन योग्य रहने व्यवस्था गरेको छ । यसअघि सर्वोच्च अदालतमा प्रधानन्यायाधिश बन्ने क्रममा बरिष्ठतम् न्यायाधिश दीपकराज जोशीले नागरिकता मिति सच्याएको कारण उत्पन्न विवादपछि २०७५ फागुन ७ गते पदबाट राजिनामा दिएका थिए भने केही महिना पहिले डिआईजीमा बढुवा हुन लागेका अशोक सिंहले नागरिकतामा जन्ममिति सच्याएकै कारण पदबाट राजिनामा दिएका थिए ।

One thought on “बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालद्धारा पटक पटक नागरिकता सच्याएको खुलासा, नागरिकता र पासपोर्टको जन्म मिति मिलेन

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*