अर्थमन्त्रालयले वेवास्ता गरेको नेप्सेको पुनर्संरचना गर्ने प्रस्ताव बजेटको एकल सुझावमा पेश

२३ बैशाख २०८१, आईतवार १४:०१

काठमाडौं । अर्थ मन्त्रालयले वेवास्ता गरेको नेपाल स्टक एक्सचेञ्ज(नेप्से ) को पुनर्संरचना गर्ने प्रस्ताव बजेटको एकल सुझावमा पेश गरेको छ।नेप्सेले आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नको लागि मन्त्रालयले ध्यान नदिएको बिषयमा केन्द्रित गर्न सुझाव पठाएको हो ।

नेप्सेको पुनर्संरचना गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पठाए पनि त्यस बिषयमा खासै ध्यान नदिँदा यो पटक नेप्सेले बजेटको सुझावको लागि यो एउटा प्रस्ताव मात्रै पठाएको नेप्सेले जनाएको छ।

पटक पटक नेप्सेको पुनर्संरचनाको बिषय लिएर अर्थमन्त्रालय धाईरह्दा पनि यसको काम अघि बढ्न सकेको छैन । सो कारण पनि अर्थमन्त्रालयको ध्यान खिच्न अन्य सुझाव थाती राखेर नेप्सेले पुनर्संरचनाको प्रस्तावको सुझाव मन्त्रालय पठाएको बुझिएको छ।

अहिले नेप्सेले बजेटमा समावेश गर्नको लागि नेप्सेको २०८० मङ्सिर २८ गते बसेको संचालक समितिले निर्णय गरेर नेप्सेको पुनर्संरचनाको लागि अर्थ मन्त्रालयमा पठाएको प्रस्ताव बमोजिम नेप्सेको पुनर्संरचना गरिनु पर्ने सुझाव पठाएको हो ।
नेप्सेको पुँजी अहिले एक अर्ब रुपैयाँ छ। यो पुँजीभित्र विदेशी साझेदार छैनन्। यसलाई तीन अर्ब रुपैयाँ पुयाउने तर त्यहीँभित्र विदेशी साझेदारलाई ल्याउने नयाँ पुनर्संरचना मस्यौदा तयार पारिएको बिषय उक्त पत्रमा समेटिएको छ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको चुक्ता पुँजी तीन अर्ब रुपैयाँ तोकेको छ।

नेप्सेलाई भने यसमा छुट दिइएको छ। तर, नेप्सेले बोर्डले भनेजति नै पुँजी पुराउनेगरी नयाँ मस्यौदा तयार पारेको हो। यसमा कर्मचारीसहितको सर्वसाधारणलाई ३० प्रतिशत सेयर दिने बिषय उल्लेख छ।यसअघि डेढ अर्ब चुक्ता पुँजी प्रस्ताव गरेको नेप्सेले सर्वसाधारणमा ९० करोडको सेयर जारी गर्ने मस्यौदा तयार पारेको हो। प्रस्तावित ३ अर्बमध्ये १ अर्ब १० करोड रुपैयाँ नयाँ संस्थापकहरुबाट जुटाइने छ। हालका संस्थापकले भने लगानी थप्नुपर्ने छैन ।

यसअघिको पुनर्संरचनासम्बन्धी प्रस्तावमा नेप्सेका कर्मचारी र सर्वसाधारणलाई ५० करोड रुपैयाँको सेयर जारी गर्ने भनिएको थियो।
नेप्सेको सञ्चालक समितिको मंसिर २८ गते बसेको बैठकले नयाँ मस्यौदा स्वीकृत गरी मन्त्रालयमा पठाएको छ । चुक्ता पूँजी बढाएर अहिलेका सेयरधनीको स्वामित्व ३३.३३ प्रतिशतमा सीमित गरिने छ ।

मन्त्रालयमा पठाएको नेप्सेको पुनसंरचनाको मस्यौदा

हाल नेप्सेमा कसको सेयर स्वामित्व कति छ ?

हाल नेप्सेको चुक्ता पुँजी १ अर्ब रुपैयाँ छ। त्यसमध्ये ५८.६६ प्रतिशत लगानी सरकारको हो। नेप्सेमा राष्ट्रिय वाणिज्य बैंकको १२, कर्मचारी सञ्चय कोषको १०, नेपाल राष्ट्र बैंकको ९.५ तथा सनराइज लक्ष्मी र प्रभु बैंकको ५÷५ प्रतिशत सेयर लगानी छ।

बाँकी सेयर ब्रोकर र मर्चेण्ट बैंकको हो । राष्ट्र बैंकको ४.६० प्रतिशत सेयर किनेर राष्ट्र वाणिज्य बैंकले नेप्सेको दोस्रो ठूलो लगानीकर्ता बनेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*