लाभांश प्रस्तावसहित नेपाल पुनर्बीमा कम्पनीको नवौं वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

२७ बैशाख २०८१, बिहीबार ०८:३१

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्नो नवौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा जेठ १७ गते काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ९ः३० बजे बोलाएको हो ।

सभाले आर्थिक वर्ष २०७९।८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने छ । त्यस्तै, लेखा परीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात, आव २०७९।८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र वित्तीय विवरणसँग सम्बन्धित अनुसूची छलफल गरी पारित गर्ने कार्ययोजना रहेको छ ।

सभाले कम्पनीको चुक्ता पूँजीको ०.२५ (शून्य दशमलव दुई पाँच) प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) र ४.७५ बोनश शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव पनि पारित गर्ने छ । कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०।८१ को लागि बाह्य लेखापरीक्षकमा टि.आर. उपाध्याय एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स, काठमाडौलाई नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने, समिति तथा उपसमितिको बैठक भत्ता अनुमोदन गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

नियमावलीको नियम २७ को उपनियम (२) (ख) अनुसार नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न एकजना सञ्चालकको निर्वाचन गर्ने । कम्पनी ऐन, २०६३ को दफा १०५ को (१) (ग) अनुसार सञ्चालक समितिको निर्णय बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका खर्चलाई अनुमोदन गर्ने र कम्पनीको प्रबन्धपत्र÷नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सोही बमोजिम आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्ने प्रस्ताव रहेको छ ।

कम्पनीले सभा प्रयोजनको लागि जेठ ६ गतेका दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार जेठ ५ गतेसम्म कायम शेयरधनीहरुले उक्त सभामा सहभागि हुनुका साथै प्रस्तावित लाभांश प्राप्त गर्ने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*