बेथिती खवरदारी गर्दै जनता र सरकारबीचमा सूचनाको पुल बन्न सफल रहोस्ः प्रधानमन्त्री प्रचण्डको शुभकामना

३१ बैशाख २०८१, सोमबार ०७:१३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बीमा क्षेत्रको प्रतिनिधिमूलक अनलाईन सञ्चार माध्यम बीमापोष्टको चौथो बार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै बीमा क्षेत्रको दीगो विकास र समृद्धिमा आफ्नो ठाउँबाट खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभएको छ । आज बीमापोष्टको चौथो बार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री प्रचण्डले दिनुभएको शुभकामना सन्देशमा बीमा क्षेत्र देशको समग्र अर्थतन्त्रको मेरुदण्डको महत्वपूर्ण आधार रहेको उल्लेख छ ।

प्रधानमन्त्री प्रचण्डले जनपक्षीय पत्रकारिताको माध्यमबाट आम नागरिकलाई बीमा सचेतना, बीमाको पहुँच बृद्धि र बीमाको दायराको फराकिलो पार्ने कार्यमा बीमापोष्टले रचनात्मक र सिर्जनात्मक भूमिका खेल्न सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले दिनु भएको शुभकामना सन्देशः

शुभकामना

राइनिसी मिडिया एण्ड रिसर्च सेन्टर प्रा.लि.द्वारा सञ्चालित बीमापोष्ट डटकम स्थापनाको चौंथो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सम्पादक, सञ्चारकर्मी, कर्मचारी र सम्पूर्ण सरोकारवालाहरूमा शुभकामना व्यक्त गर्दछु ।

संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुशासनसहितको समृद्धिको लागि सञ्चार माध्यमको अहम् भूमिका रहेको हुन्छ। पछिल्लो समय अनलाईन सञ्चार माध्यमको प्रयोग व्यापक रुपमा बढिरहेको छ । राज्यको चौंथो अंगका रुपमा रहेका सञ्चार माध्यम जनताको सरोकार र समस्याहरू सरकारसम्म पुरÞ्याउने पुल बन्न सक्नुपर्दछ ।

बीमा क्षेत्र देशको समग्र अर्थतन्त्रको महत्वपूर्ण आधार हो । बीमाकै माध्यमबाट नागरिक र सम्पत्तिको जोखिम रक्षावरण गर्न सकिन्छ । विभिन्न विपद् तथा आकस्मिक घटनाहरूबाट हुने क्षतिको रक्षावरण गर्दै बचत तथा पुँजी निर्माणमार्फत् समग्र विकास र अर्थतन्त्रमा बीमा क्षेत्रको योगदान बढाउनु आजको मुख्य आवश्यकता हो । बीमा पोष्ट डटकम नामक सञ्चार माध्यमले बीमा क्षेत्रको दिगो विकास र समृद्धिमा आफ्नो ठाउँबाट खेलेको भूमिका प्रशंसनीय छ। बीमापोष्ट डटकमले आगामी दिनमा जनपक्षीय पत्रकारिताको माध्यमबाट आम नागरिकलाई बीमा सचेतना, बीमामा पहुँच बृद्धि र दायरा फराकिलो पार्ने कार्यमा थप रचनात्मक र सिर्जनात्मक भूमिका खेल्नेछ भन्ने अपेक्षा लिएको छ ।

अन्त्यमा, बीमापोष्ट डटकमले मनाउन लागेको चौंथो बार्षिकोत्सवको अवसरमा बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछु ।

३१ वैशाख २०८१
पुष्पकमल दाहाल ’प्रचण्ड’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*