निर्जीवन बीमा ब्यवसायमा शिखरको अग्रता कायमैः सगरमाथालाई पछ्याउँदै सिद्धार्थ, हिमालयन र नेकोको प्रतिस्पर्धा (सूचीसहित)

२ जेष्ठ २०८१, बुधबार १२:०९

काठमाडौँ । निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जनमा उल्लेख्य वृद्धि भएको छ । कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार निर्जीवन बीमा कम्पनीको ब्यवसायमा सुधार देखिएको हो ।

हाल संचालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले २६ अर्ब १८ करोड २६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । जुन गत आर्थिक वर्षको तुलनामा १९.११ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीहरुले २१ अर्ब ९८ करोड १५ लाख ५८ हजार रुपैयाँको ब्यवसाय गरेका थिए ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा सबैभन्दा बढी ब्यवसाय गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स पहिलो नम्बरमा रहेको छ । कम्पनीले यस अवधिमा कुल बीमा शुल्क १२.७७ प्रतिशतले बढेर ३ अर्ब ५७ करोड २० लाख रुपैयाँ आर्जन गरेको हुन् । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ३ अर्ब १६ करोड ७४ लाख रुपैयाँको ब्यवसाय गरेको थियो ।

यसअवधिमा सबैभन्दा बढी ब्यवसाय वृद्धि गर्नेमा आइजिआइ प्रुडेन्सियल र युनाइटेड अजोड अग्र स्थानमा रहेका छन् । चालु आर्थिक वर्षको ९ महिनामा आइजिआइले आफ्ना ब्यवसाय ७८.४२ प्रतिशतले बढाएर २ अर्ब २८ करोड ४६ लाख रुपैयाँ र युनाइटेडले ७८.१९ प्रतिशतले बढाएर १ अर्ब ८४ करोड १४ लाख रुपैयाँ पुराएको छ ।

त्यस्तै, कुल बीमा शुल्क आर्जन गर्ने क्रमशः सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २८.३२ प्रतिशतले बढेर ३ अर्ब १२ करोड रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले ७१.३८ प्रतिशतले बढाएर २ अर्ब ६० करोड रुपैयाँ, हिमालयन एभरेष्टले २४.८० प्रतिशतले बढाएर २ अर्ब १६ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले ५ प्रतिशतले बढाएर १ अर्ब ९३ करोड रुपैयाँ, एनएलजि इन्स्योरेन्सले ८.४९ प्रतिशतले बढाएर १ अर्ब ७४ करोड रुपैयाँ, सानिमा जिआइसिले ९.२८ प्रतिशतले बढाएर १ अर्ब ५३ करोड, ओरियन्टल इन्स्योरेन्सले २५.१८ प्रतिशतले बढाएर १ अर्ब ३५ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले ८.३३ बढाएर १ अर्ब १९ करोड र प्रभु इन्स्योरेन्सले १३.४१ प्रतिशतले बढाएर १ अर्ब ११ करोड रुपैयाँ आर्जन गरेको छ ।

यता, राष्ट्रिय बीमा कम्पनीको ४२.९२ प्रतिशतले घटेर १ अर्ब १५ करोड रुपैयाँ र नेशनलको २७.३५ प्रतिशतले घटेर ५५ करोड ४४ लाख रुपैयाँ ब्यवसाय गरेका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*