नीतिगत चेपुवामा परेको पुँजी बजारलाई राष्ट्र बैंकद्धारा ‘मौन नीति’ उपहार, के भन्छन् लगानीकर्ता ?

दिपक विष्ट
४ जेष्ठ २०८१, शुक्रबार १५:३८

काठमाडौँ । पछिल्लो समय शेयर बजार नीतिगत अवरोधको चेपुवामा परेको छ । पुँजी बजारलाई निरन्तर राष्ट्र बैंकका केही नीतिले बेला–बेला धक्का दिइरहेको अवस्था छ । पोलिसि परिमार्जन हुने आसमा बसेका लगानीकर्तालाई केन्द्रीय बैंकले मौन नीति उपहार दिएको छ । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । यस समीक्षामा केन्द्रीय बैंकले शेयर बजारका कुनै बुँदा हलचल गरेको छैन । शेयर बजारका लगानीकर्ता पुरानै शैली राष्ट्र बैंकले कायम राखेको छ । शेयर बजार सम्बन्धी बाधक नीति फुकुवा हुने आस लगानीकर्तामा रहेको थियो । तर, लगानीकर्तालाई खिन्न बनाउँदै राष्ट्र बैंकको समीक्षा आयो ।

विशेष लगानीकर्ताले शेयर धितो कर्जाको क्याप हटाउनुपर्ने र जोखिम भार घटाउनुपर्ने माग गरेका थिए । तर, उक्त माग सम्बोधन हुन सकेन । अर्थमन्त्री वर्षमान पुनले पनि शेयर बजार सुधारका लागि निकै सक्रिय देखिएका थिए । उनले ६० लाख लगानीकर्ता रहेको पुँजी बजार सुधारको प्रतिबद्धता गरेका थिए । उनले पछिल्लो केही दिन यता सार्वजनिक कार्यक्रममा समेत बाधक नीति फुकुवा हुनुपर्ने बताएका थिए ।

तर, राष्ट्र बैंकले मौद्रिक नीति मार्फत शेयर बजारका केही बाधक नीति फुकुवा लागि समन्वय खेलेको देखिँदैन ।

के भन्छन् लगानीकर्ता ?

शेयर लगानीकर्ताका तीन वटा माग सम्बोधन गर्नेका लागि समेत राष्ट्र बैंक लचक नदेखिएको लगानीकर्ता छोटेलाल रौनियारले बताए । उनले भने, ‘लगानीकर्ताले सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतलाई १०० प्रतिशत, १५ करोड र २० करोडको सीमा हटाउनु पर्ने र क्याप हटाउनुपर्ने र शेयर बजारमा लोन गएको छैन यसको लक खोल्नुपर्छ ।’

लगानीकर्ताको माग सम्बोधनका लागि राष्ट्र बैंक मौन बसेको रौनियारले बताए । यता, अर्थ मन्त्रालयले समेत लबिङ गर्ने नसकेको उनको भनाइ छ । बजेट मार्फत लगानीकर्ताले पुँजी बजारका लागि दिगो नीति ल्याउनु पर्ने रौनियारले बताए । ‘बजारका लागि दिगो नीति ल्याउनु पर्छ । सेबोनको अध्यक्ष नहुँदा काम रोकिने हुनु भएन् । छिटो छिटो पोलिसि परिवर्तन हुनु भएन’ उनले भने ।

मौद्रिक नीति शेयर बजारका लागि कागलाई बेल पाक्यौँ हर्ष न बिष्मात जस्तै रहेको लगानीकर्ता राधा पोखरेलले बताइन् । उनले भनिन्, ‘यो पटक शेयर बजारका लगानीकर्तालाई धेरै आशा थियो । गर्भनरको कार्यकाल समेत धेरै थिएन । शेयर बजारका ६० लाखभन्दा बढी लगानीकर्ताका लागि सम्झिने बनाउनु हुन्छ भन्ने थियो तर नर्बिसिने गरी जानु हुने भयो ।’

अर्थ मन्त्रालयले पनि राष्ट्र बैंकसँग प्रभावकारी समन्वय गर्ने नसकेको उनको भनाइ छ । ‘लगानीकर्ताले लामो समयदेखि आफ्नो गुनासो पोख्दै आए पनि नियामकले भने नसुनेको उनले बताइन् । शेयर बजार निकै धरापमा छ । लामो समयदेखि लगानीकर्ताले आफ्नो गुनासो सुनाउँदै आइरहेका छन् । तर, कुनै पनि विषय नजोडिनु दुखत हो’ पोखरेलले बताइन् ।

अब लगानीकर्ताको आँखा बजेट तिर परेको उनले बताइन् । उनले भनिन्, ‘हामीले दिएका सुझाव कति बजेट मार्फत र कति मौद्रिक नीति मार्फत आउनु पर्ने थियो । मौद्रिक नीतिमा समावेश भएन । नीति तथा कार्यक्रम मार्फत लगानीकर्ता सुझाव कार्यान्वयन हुने भन्ने विषय समावेश भएको छ । अब हेरौँ बजेट मार्फत के के हुन सक्छ ?’

लगानीकर्ता रोहन कार्कीले भने मौद्रिक नीति शेयर बजारका लगानीकर्ताका लागि निकै अचम्मको आइरहेको बताए । राष्ट्र बैंकले आन्तरिक अर्थतन्त्र चलयमान बनाउनुका लागि कुनै पनि सकारात्मक कदम नचालेको उनको भनाइ छ । कार्कीले भने, ‘आन्तरिक र बाह्य अर्थतन्त्र बलियो र बैंकमा तरलता प्रशस्त हुँदा समेत आन्तरिक अर्थतन्त्र चलयमान बनाउन कदम भएन । विदेशी व्यापारी र अन्तर्राष्ट्रिय कम्पनीबाट आयात हुने गाडिलाई सहजीकरण गर्ने । स्वदेशीका लाखौँ लगानीकर्ता, उद्योगी र व्यवसायीलाई सम्बोधन गर्ने खाले कुनै कुरा आएन ।’

राष्ट्र बैंक केही सीमित घरानाको इसारामा चलेको उनले बताए । ‘राष्ट्र बैंक जसले कमिसन तथा प्रलोभन दिन सक्छ उसैको इसारामा चलि रहेको छ । आन्तरिक अर्थतन्त्र चलयमान बनाउन केही फोकस भएको छैन । स्वदेशी लगानीकर्ताका लागि मौद्रिक नीतिको तेस्रो समीक्षा मार्फत केही आएन’ कार्कीले भने ।

अर्थतन्त्र मन्दिमा रहेको बेला केही नीतिगत कसेर राख्नु स्वाभाविक भए पनि बिस्तारै सुधार तिर अर्थतन्त्र गइरहँदा केही नीति बाधेर राख्न गलत भएको उनले बताए । अर्थतन्त्र बिस्तारै लयमा आइरहेको छ । अब बिस्तारै बाधक नीति फुकुवा तिर राष्ट्र बैंकको ध्यान गएको छैन उनले भने यसबाट प्रस्ट हुन्छ केन्द्रीय बैंक व्यक्तिगत स्वार्थमा लिप्त भएको देखिन्छ । स्वदेशी लगानीकर्ताको हित भन्दा विदेशी लगानीकर्ताको इसारामा चलेको देखिन्छ ।

मौद्रिक नीति मार्फत लगानीकर्ताको आशै नरहेको लगानीकर्ता दीपेन्द्र अग्रवालले बताए । उनले भने, ‘हामीले सहजै रूपमा लिएका छौ । राष्ट्र बैंकले पुँजी बजारका लगानीकर्ताका लागि केही आउँदैन भन्ने थियो । गर्भनरलाई ब्याजदर घटी रहेको छ, कर्जा माग घटेको छ, डिपोजिट बढेको छ यस्तो बेला नीति नचलाउने भन्ने कुरा पनि हुन्छ । व्यवसायीका लागि गर्भनरले कहिले पनि उत्कृष्ट पोलिसि ल्याउन सकेको छैन । अर्थ मन्त्रालयले केन्द्रिक बैंकसँग भने कहिले समन्वय गर्ने सकेको छैन ।‘

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*