१४ जीवन बीमा कम्पनीबाट बीमितहरुले लिए एक खर्ब ऋण, कुन कम्पनीबाट कति ? (सूचीसहित)

५ जेष्ठ २०८१, शनिबार ०८:३३

काठमाडौं । हाल सञ्चालन रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले आफ्ना बीमितहरुलाई झण्डै एक खर्ब रुपैयाँ बीमालेख धितो कर्जा मार्फत वितरण गरेका छन् । बीमा कम्पनीहरुले प्रकाशन गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुबाट बीमितहरुले ९७ अर्ब ४२ करोड रुपैयाँ ऋण लिएको देखिएको छ ।

जीवन बीमा कम्पनीमा बीमा गरेका बीमितहरुले बीमा कम्पनीहरुबाट आफूले तिरेको बीमा शुल्कको सरेण्डर भ्यालुको आधारमा ऋण लिन सक्ने व्यवस्था रहेको छ । बीमितहरुले दैनिक जीवनमा कुनै आर्थिक संकट आएको खण्डमा आफुले बीमा गरेको कम्पनीबाट व्यवस्था भए बमोजिम र आवश्यक भए अनुसार कर्जा प्राप्त गर्न सक्नेछन् ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले बीमितहरुलाई ९७ अर्ब ४२ करोड २१ लाख रुपैयाँ बराबरको रकम बीमालेख धितोकर्जा मार्फत ऋण प्रवाह गरेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ९१ अर्ब २५ करोड ४८ लाख रुपैयाँ रहेको उक्त कर्जा ६ दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी धितोलेख बीमा कर्जा प्रवाह गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८ दशमलव ४० प्रतिशतले वृद्धि गर्दै ३३ अर्ब ७१ करोड ६३ लाख रुपैयाँ पुर्याएको छ । कम्पनीले गत आवमा ३१ अर्ब १० करोड २९ लाख रुपैयाँ बराबरको रकम धितोलेख कर्जा मार्फत प्रवाह गरेको विवरणले देखाएको छ ।

दोस्रो स्थानमा रहेको एलआईसी नेपालले २२ अर्ब ३५ करोड ४१ लाख रुपैयाँ धितोलेख कर्जामा प्रवाह गरेको छ । कम्पनीले आफ्ना बीमितहरुको विभिन्न आर्थिक समस्यालाई समाधान गर्नको लागि उक्त कर्जा प्रदान गर्दै आएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २१ अर्ब ६८ करोड दुई लाख रुपैयाँ रहेको उक्त कर्जा समीक्षा अवधिमा ३ दशमलव ११ प्रतिशतले वृदि भएको हो ।

नेशनल लाइफ इन्स्योरेन्सले बीमालेख धितोकर्जा प्रवाहलाई ९ दशमलव २७ प्रतिशतले वृद्धि गरेको छ । कम्पनीले बीमितको मागलाई सम्बोधन गर्दै समीक्षा अवधिमा ११ अर्ब ५५ करोड ६५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १० अर्ब ५७ करोड ५८ लाख रुपैयाँ धितोलेख कर्जा प्रवाह गरेको वित्तीय विवरणले देखाएको छ ।

 

साथै, सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले बीमा कर्जा मार्फत ७ अर्ब ६६ करोड ६९ लाख रुपैयाँ प्रवाह गरेको छ । कम्पनीले उक्त कर्जा प्रवाहको दायरालाई ० दशमलव ५७ प्रतिशतले कम गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ७ अर्ब ७१ करोड ८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

समीक्षा अवधिमा हिमालयन लाइफले ६ अर्ब ७५ करोड रुपैयाँ, एशियन लाइफले ४ अर्ब ७८ करोड रुपैयाँ, सूर्यज्योति लाइफले ४ अर्ब दुई करोड रुपैयाँ, मेट (अमेरिकन) लाइफले एक अर्ब ७२ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब २४ करोड, प्रभु महालक्ष्मी लाइफले एक अर्ब पाँच करोड, सिटिजन लाइफले ७९ करोड ६१ लाख रुपैयाँको बीमालेख धितो कर्जा प्रवाह गरेका छन् ।

यसका साथै, आइएमई लाइफले बीमितहरुलाई ६९ करोड ७२ लाख, सन नेपाल लाइफले ५९ करोड र रिलायबल नेपाल लाइफले ४४ करोड ७२ लाख रुपैयाँको बीमालेख धितो कर्जा प्रवाह गरेको छ ।

यस अवधिमा सिटिजन लाइफको बीमालेख धितोकर्जा प्रवाह सर्वाधिक वृद्धि भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २५ दशमलव ४६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले बीमितहरुलाई आवश्यकता र माग अनुसार ऋण प्रवाह गरेको देखिन्छ ।

त्यस्तै, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, हिमालयन, आइएमई, प्रभु महालक्ष्मी लगायतका कम्पनीहरुले उक्त कर्जा प्रवाहलाई दोहोरो अंकले वृद्धि गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*