शेयर बजारको सिजनको पहिलो रौनक छायो नेप्सेमा, बीमाको उपसूचकमा उछाल

६ जेष्ठ २०८१, आईतवार १५:२१

काठमाडौं । शेयर बजारमा आइतबार निकै उत्साह छाएको छ । नेप्से सूचकसहित कारोबार रकममा उत्साह देखिएको छ। आज नेप्से परिसूचक ४५.६९ विन्दुले बढेर २०६४.४५ अंकमा आएको छ । ५ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बीमा क्षेत्रको उपसूचकमा रौनक छाएको छ।

मौद्रिक नीति समीक्षापछि बैंकहरुलाई आफूले लगानी गरेको धितोपत्रहरु एक वर्ष पुगेपछि २० प्रतिशतसम्म बिक्री गर्न दिने नीति लिएको छ । यसअघि १ प्रतिशतमात्र बिक्री गर्न पाइन्थ्यो । यस प्रावधानले बैंकहरुले सेयर खरिद बढाउन सक्ने देखिएको छ ।

यसै प्रावधानको सकारात्मक प्रभाव बजारमा परेको अनुमान गरिएको छ । अब बैंकहरुले सस्तो मूल्यका सेयरहरु खरिद गर्न सक्ने अवस्था छ । किनभने अहिले किनेको सेयर एक वर्षपछि नाफा लिएर बिक्री गर्न सक्ने अनुमति केन्द्रीय बैंकले दिएको छ ।
यसबाहेक ब्रोकर कमिसन ब्याजदर थप घटेको छ । यी नयाँ व्यवस्थाले पनि सेयर बजारमा सकारात्मक माहोल ल्याउन सक्ने सम्भावना देखिएको छ। यता, तेस्रो त्रैमासमा बीमा र माइक्रोफाइनान्स कम्पनीहरुले राम्रो मुनाफा गरेका छन् । यिनीहरुको लाभांश वितरण क्षमता पनि बढेको छ । यी कुराहरुको प्रभाव पनि विस्तारै बजारमा देखिने विश्लेषण गर्न सकिन्छ ।

जेठ, असार, साउन लगायतका महिनालाई सेयर बजारको सिजनका रुपमा लिने गरिन्छ । यसपटक सिजनमा नेप्सेले कस्तो पर्फमेन्स गर्ने हो त्यो भने हेर्न बाँकी नै छ । बजार विस्तारै अघि बढ्न खोजेको देखिन्छ ।
यस दिन ३२३ कम्पनीको १ करोड २२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७४ हजार ९ ९१ वटा कारोबार भएको हो । १४ करोड ८० लाखसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*