गार्डियन माइक्रो लाइफका कर्मचारीमाथि शोषण, केन्द्रीय कार्यालयबाट तथानाम गालीगलौज

६ जेष्ठ २०८१, आईतवार १८:०८

काठमाडौं । भर्खरै खुलेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका उच्च तहका कर्मचारीहरुले तल्ला तहका कर्मचारीमाथि शोषण र तथानाम गाली गर्ने गरेको पाइएको छ ।

गार्डियन माइक्रो लाइफका मार्केटिङ प्रमुख कैलाश देवकोटाले विभिन्न जिल्लामा नियुक्त भएका कर्मचारीहरुमाथि चर्को दवाव दिने, जागिर छोड्न लगाउने, नियुक्ती पत्र नदिई काममा लगाउने जस्ता हर्कतहरु गरेर कर्मचारीमाथि दमन उत्पीडन गर्ने गरेको गुनासो प्राप्त भएको छ ।

भर्खरै खुलेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले खासै व्यवसाय गर्न सकेको छैन । बीमा पोलिसी समेत बनाउन नसकेको, ब्राण्डिङ र प्रमोशन समेत गर्न नसकेका कारण कम्पनीले कारोबार सुरु गरेपनि व्यवसायमा गति लिन सकेको छैन । स्थापनापछि हालसम्म पनि आफ्ना कर्मचारीहरुलाई तालिम समेत दिन नसकेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीमा कैलाश देवकोटा तथा सिईओ चिरायु भण्डारीको पेलाईका कारण कैयौं कर्मचारीहरुले जागिर समेत छोडिसकेका छन् ।

पछिल्लो समय बीमापोष्टका सम्पर्कमा आएका टीकाराम थापाले आफूलाई २५ हजार तलव हुने भनि पुसदेखि काममा लगाएर माघ २ गते मात्रै नियुक्ती पत्र दिइएको, नियुक्ती पत्रमा तल समेत १८ हजार मात्रै उल्लेख गरेकोले बुझ्न अस्वीकार गरेको भन्दै गुनासो गरेका छन् ।

ति पूर्व कर्मचारीका अनुसार कैलाश देवकोटा भन्ने व्यक्तिले आफूलाई मार्केटिङ भनेर अन्तर्वार्ता लिँदै धनकुटा शाखा प्रमुखको रुपमा नियुक्ती गरेका थिए ।

तर, एक महिना काममा लगाएर दोस्रो महिनामा मात्रै नियुक्ती पत्र दिएको, नियुक्ती पत्र दिँदा २५ हजार तलव हुनुपर्नेमा जम्मा १८ हजार मात्रै तोकिएको, धनकुटा शाखा भनेर महिनादिन काममा लगाएपछि तेह्रथुमको शाखा प्रमुखको नियुक्ती गरेको भन्दै नियुक्ती पत्र पठाएको गुनासो गरेका छन् ।

सो सम्बन्धमा नेपाल बीमा प्राधिकरणमा गुनासो गर्दा समेत न्याय नपाएको गुनासो पीडित कर्मचारीको रहेको छ । पीडित थापाले प्राधिकरणको कोशी प्रदेशस्थित कार्यालयमा निवेदन दिएपनि खासै चासो नदिएको पीडितको गुनासो छ ।

गार्डियन माइक्रो लाइफ नामक कम्पनी स्थापनाको सुरुवातमै कर्मचारीमाथि गरेको व्यवहारका कारण विवादमा परेको छ । पछिल्लो समय कम्पनीमा कार्यरत कर्मचारीहरु मार्केटिङ प्रमुख देवकोटा र सिईओ भण्डारीका कारण काम गर्नै नसक्ने अवस्था आएको भन्दै गुनासो गरिरहेका छन् ।

यसै बिषयमा कम्पनीका सिईओ चिरायु भण्डारीसँग कुराकानी गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*