सानिमा रिलायन्स, एशियन र सूर्यज्योति लाइफको खुद दावी भुक्तानी उच्च अंकले बढ्यो, कुन कम्पनीको कति ?

७ जेष्ठ २०८१, सोमबार १७:५१

काठमाडौं । नेपालमा सञ्चालित रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४५ अर्ब बढी रुपैयाँ बराबरको खुद बीमा दावी भुक्तानी गरेका छन् । यस अवधिमा सानिमा रिलायन्स, एशियन र सूर्यज्योति लाइफको उक्त दावी भुक्तानी उच्च अंकले वृद्धि भएको छ ।

तथ्यांक अनुसार समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरुको खुद बीमा दावी भुक्तानी १२ दशमलव ६० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४० अर्ब ७९ करोड रुपैयाँमा सीमित रहेको उक्त दावी भुक्तानी समीक्षा अवधिमा वृद्धि हुदै ४५ अर्ब ९३ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।

नियमनकारी निकाय बीमा प्राधिकरणको सवल नेतृत्व, निर्देशन र जीवन बीमा कम्पनी तथा सरोकारवाला सम्पूर्णले हातेमालो गर्दै जनचेतना फैलाएपश्चात तथा कम्पनीहरुले बीमा दावीलाई सहज, सरल बनाएपछि खुद दावी भुक्तानी बढेको जानकार बताउछन् ।

नेपाली बीमा क्षेत्रको ठुलो कम्पनी नेपाल लाइफले चालु आर्थिक वर्षको नौ महिनाको अन्तरालमा १० अर्ब २३ करोड रुपैयाँको खुद बीमा दावी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ अर्ब ८२ करोड रुपैयाँको खुद दावी भुक्तानी गरेको विवरणले देखाएको छ ।

त्यस्तै, एलआईसी नेपालको खुद बीमा दावी भुक्तानी १८ प्रतिशतले वृद्धि हुदैं ७ अर्ब ७१ करोड रहेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब ५३ करोड रुपैयाँको खुद बीमा दावी भुक्तानी गरेको थियो ।

खुद बीमा दावी भुक्तानीको आधारमा नेशनल लाइफ तेस्रो स्थानमा रहेको छ । कम्पनीले यस अवधिमा पाँच अर्ब ७० करोड रुपैयाँको खुद दावी भुक्तानी गरेको छ । कम्पनीले आफ्ना बीमितहरुको दावी भुक्तानीलाई विशेष प्राथमिकता दिदैं व्यवसायमा पति उल्लेख्य वृद्धि गरेको छ ।

यसका साथै, हिमालयन लाइफले चार अर्ब ४४ करोड, सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले चार अर्ब २० करोड, एशियन लाइफले तीन अर्ब १५ करोड, सूर्यज्योति लाइफले दुई अर्ब ३४ करोड रुपैयाँ बराबर खुद दावी भुक्तानी गरेको छ ।

साथै, मेट लाइफले यस अवधिमा दुई अर्ब ४३ करोड, सानिमा रिलायन्स लाइफले एक अर्ब २० करोड, आइएमई लाइफले एक अर्ब आठ करोड, सिटिजन लाइफले एक अर्ब सात करोड र प्रभु महालक्ष्मी लाइफले ८६ करोड रुपैयाँ दावी भुक्तानी गरेको छ ।

वृद्धिदरको आधारमाः

समीक्षा अवधिमा सानिमा रिलायन्स र एशियन लाइफसहित २ कम्पनीहरुको खुद बीमा दावी भुक्तानी गत आर्थिक वर्षको तुलनामा शतप्रतिशतभन्दा बढी अंकले वृद्धि भएको छ । कम्पनीहरुले सरल र सहज बीमा दावी प्रक्रिया अबलम्बन गर्दै आएपश्चात खुद दावी भुक्तानी बढेको हो ।

यस अवधिमा सानिमा रिलायन्स लाइफको खुद दावी भुक्तानी १५३ प्रतिशत र एशियन लाइफको १०४ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, सूर्यज्योति लाइफको ७७ प्रतिशतले खुद दावी भुक्तानी वृद्धि भएको छ । पछिल्लो समय सूर्यज्योति लाइफले आफ्ना बीमितहरुको हकहितको लागि बीमा दावी भुक्तानीलाई विशेष प्राथमिकता दिदैं कार्य सम्पादन गर्दै आएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा प्रभु महालक्ष्मी लाइफको ६९ प्रतिशत, आइएमई लाइफको ३६ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीको २९ प्रतिशत र अन्य कम्पनीहरुको २० प्रतिशतभन्दा मुनीले खुद दावी भुक्तानी वृद्धि भएको छ । साथै, चार कम्पनीको उक्त दावी भुक्तानी रकम सामान्य अंकले घटेको छ । कम्पनीहरुले प्रकाशित गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा रहेको क्लेम सेडेडलाई घटाई कम्पनीहरुको खुद बीमा दावी भुक्तानीको विवरण निकालेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*