गार्डियन माइक्रो लाइफका कर्मचारीमाथि चरम अत्याचार, जागिर छोडेका कर्मचारीले पाउँदैनन् तलव उल्टै रकम तिर्न पत्राचार

७ जेष्ठ २०८१, सोमबार १७:२३

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीमा यदि तपाई काम गर्न जाने सोचाईमा हुनुहुन्छ भने सचेत हुनुपर्ने देखिएको छ । किनभने उक्त कम्पनीमा काम गर्न जाँदा कुनै कारणवश राजीनामा दिनुपर्ने भयो भने उल्टै कम्पनीलाई रकम तिर्नुपर्ने हुन सक्दछ ।

गार्डियन माइक्रो लाइफमा जागिर खान्छु र बीमा क्षेत्रमा केही गर्छु भनेर सो कम्पनीमा भर्ना भएका दाङका एक युवाले त्यसैगरी, एक महिना काम गरेर तलव पाउनु त कता हो कता उल्टै रकम भुक्तानी गरेर जागिरबाट मुक्त भएका छन् । २०८० साल साउन १५ गते गार्डियन माइक्रो लाइफमा आबद्ध भएका दाङका ति युवाले कार्तिक १५ गते राजिनामा दिए । राजिनामा दिँदा जम्मा तीन महिना मात्रै काम गरेका थिए ।

राजिनामा स्वीकृत गर्दा कम्पनीले हिसाब निकाल्यो उल्टै ४९ हजार रुपैयाँ तिर्नुपर्ने । अनुपस्थित तथा एकल हाजिरीबापत कट्टी हुने रकम १४ हजार रुपैयाँ र नियुक्त पत्रको बुँदा नं ३ अनुसार कट्टी हुने रकम ३५ हजार रुपैयाँ उल्लेख गरी कूल ४९ हजार रुपैयाँ राजिनामा स्वीकृत हुनु अघि कम्पनीको खातामा जम्मा गर्न भनियो । युवा रन्थनिए । तर, उनले न्याय पाएनन् ।

मासिक १६ हजार २४८ रुपैयाँ तलव पाउने गरी नियुक्त भएका ति युवालाई तीन महिना काम गरे बापत उल्टै ४९ हजार तिर्न भनेपछि गार्डियन माइक्रो लाइफको प्रशासनप्रति रुष्ट बनेर सो कम्पनीमा जीवनभर पाइलो नहाल्ने भन्दै निस्किएका छन् । जागिर छोडेका कर्मचारीलाई कम्पनीले रकम तिर्न ताकेता गरिरहेको जनाइएको छ ।

बीमा क्षेत्रमा नयाँ भविष्य कोर्न र केही गर्न सकिन्छ कि भनेर नियुक्त भएका कर्मचारीहरुमाथि यस्तो व्यवहारबारे चाल पाएपछि अहिले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी छोड्नेहरु धमाधम बढिरहेको छ ।कम्पनी स्थापना भएको दिनदेखि दुई दर्जन भन्दा बढी कर्मचारीहरुले जागिर छोडि सकेका छन् । जागिर छोडेका कर्मचारीहरुले तलब हालसम्म नपाएको र न्यायको लागि प्राधिकरणमा पुग्दा टेड्र युनियन मार्फत आउन सुझाव दिएको ती पिडित कर्मचारीहरुको गुनासो छ ।

कम्पनीका मार्केटिङ प्रमुख कैलाश देवकोटाले कम्पनीमा कार्यरत कर्मचारीलाई अनावश्यक दुख दिने गरेको पिडित कर्मचारीहरुको गुनासो छ ।कर्मचारीको सम्झौतापत्रको बुँदालाई उल्लंघन गर्दै अनावश्यक दुख दिएर कम्पनीबाट निकाल्न बाध्य गराउने र उल्टै बिल तिर्ने निर्देशन सहित पत्र दिएर दुख दिने गरेको पिडितहरु बताँउछन् ।

पिडित कर्मचारीहरुले बीमा प्राधिकरणमा गार्डियन माईक्रो लाइफको बिषयमा उजुरी पत्र लिएर जाँदा कर्मचारीको पक्षमा भन्दा पनि कम्पनीको पक्षमा रहेर सल्लाह दिएर पठाउने गरेको गुनासो छ ।

बीमितहरुको हक हितको लागि लड्ने प्राधिकरण कम्पनीको हितमा मात्रै रह्दा ती पिडित कर्मचारीहरु समस्यामा परेका छन् । बीमितहरुको पहिलो न्यायलयबाट न्याय नपाएपछि अहिले ती पिडित कर्मचारीहरु अदालती प्रकृयामा जान लागेका छन् ।

कम्पनीका मार्केटिङ प्रमुख र सिईओले अचाक्ली गाली गर्ने गरेको पीडित कर्मचारीहरुको गुनासो छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*