नेपाल रिको मुनाफामा उच्च गिरावट, व्यवसाय खस्कियो

९ जेष्ठ २०८१, बुधबार ०८:२८

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चालु आवमा कम्पनीको खुद नाफा ४७ करोड ५६ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको खुद नाफा १८ करोड ८९ लाख रुपैयाँ धनात्मक रहेको थियो ।

यस अवधिमा कम्पनीको बीमा कोषको आकार २२.९४ प्रतिशतले बढेर आठ अर्ब ९१ करोड रुपैयाँ नाघेको छ । गत आवको यसै अवधिमा कम्पनीको बीमा कोषमा सात अर्ब २४ करोड रुपैयाँ संचिती रहेको थियो । असोज मसान्तसम्म जगेडा कोषमा १९ करोड ६९ लाख रुपैयाँ संचिती छ भने महाविपत्ति कोषमा २६ करोड ७४ लाख रुपैयाँ संचिती रहेको छ ।

कुल एक अर्ब ४३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३४.७० प्रतिशत कम हो । गत आवको यही अवधिमा कम्पनीले दुई अर्ब १९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

गत आवको तुलनामा कम्पनीको कुल आम्दानीमा १५.८२ प्रतिशतको गिरावट आएको छ । गत आवको असोज मसान्तसम्म दुई अर्ब बढी कुल आम्दानी गरेको यस कम्पनीले चालु आवको सोही अवधिमा एक अर्ब ७३ करोड रुपैयाँमात्र आम्दानी गर्न सफल भएको छ ।

गत आवको तुलनामा कम्पनीको कुल खर्चभने २३.४२ प्रतिशतले बढेर दुई अब २१ करोड रुपैयाँ नाघेकोे छ । यता कम्पनीको इपिएस ३.७१ रुपैयाँ ऋणात्मक भएको छ भने प्रतिशेयर नेटवर्थ १३९.१४ रुपैयाँ रहेको छ । १२ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको चालु आवको समीक्षा अवधिमा कमिसन खर्च ६७ करोड ५२ लाख रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*