आगामी बजेट लागि पुँजी बजारका लगानीकर्ताले राखे दुई बुँदे माग, सम्बोधन नभए आठ संगठन आन्दोलनमा उत्रिने

१३ जेष्ठ २०८१, आईतवार ११:१८

काठमाडौँ । पुँजी बजारका आठ वटा संगठनले आगामी आर्थिक वर्षको बजेटका लागि दुई बुँदे माग राखेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै शेयर बजारका करसम्बन्धी २ बुँदे राखेका हुन् ।

जारी विज्ञप्तिमा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल, पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल, जनरल इन्भेष्टर्स एसोसिएसनका अध्यक्ष दीका कार्की, नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे, स्वतन्त्र पुँजीबजार सुधार संघका अध्यक्ष सुशील लुनिया, नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे र साधारण लगानीकर्ता संघका अध्यक्ष ऋतुजंग जीसीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

लगानीकर्ताहरुले पुँजीगत लाभकरसम्बन्धी व्यवस्था संशोधन गर्न सरकारसँग माग गरेका छन् । अहिले प्राकृतिक व्यक्तिले सेयर कारोबारबाट प्राप्त आम्दानीमा अल्पकालीन भए ५ प्रतिशत र दीर्घकालीन लगानीमा ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्दै आएको छ । यसलाई नै अन्तिम कर कट्टी हुने कानुनी व्यवस्था गर्नुपर्ने लगानीकर्ताको माग रहेको छ ।

त्यस्तै, अल्पकालीन भए ५ प्रतिशत र दीर्घकालीन लगानीमा ७.५ प्रतिशत अग्रिम कर असुल गर्नुपर्ने ब्यवस्था अहिले रहेको छ । उक्त व्यवस्थालाई अल्पकालीन भए ५ प्रतिशत र दीर्घकालीन लगानीमा ३ प्रतिशत कायम गर्न माग गरेका छन् । सो ब्यवस्थाले लगानीकर्ताहरुको मनोवल उच्च हुने र कारोबार रकम बढेर सरकारको राजस्वसमेत बढोत्तरी हुने लगानीकर्ताको सुझाव रहेको छ ।

लगानीकर्ताको माग सम्बोधन नभएमा विरोधमा उत्रिने चेतावनी समेत दिएका छन् ।

One thought on “आगामी बजेट लागि पुँजी बजारका लगानीकर्ताले राखे दुई बुँदे माग, सम्बोधन नभए आठ संगठन आन्दोलनमा उत्रिने

  1. गोसमान श्रेष्ठ says:

    यो आम्दानी मा परिवारलाई र एकल ब्याक्ती लाई दिदै आयको कर छुट घटाउन पाउनु पर्छ । अहिले परिवार भयमा 450 हजार सम्म कर नलाग्ने ब्याबस्था छ । सो सुबिधा अन्य प्राकृतिक ब्याक्ती ले पनि पाउनु पर्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*