नेपाल पुनर्बीमा कम्पनीको सिईओमा सुरेन्द्र थापालाई नियुक्त गर्ने निर्णय, नियामकीय स्वीकृति बाँकी

१३ जेष्ठ २०८१, आईतवार १२:३६

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सुरेन्द्र थापा (पाल्पा) नियुक्त भएका छन्।

कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले थापालाई चार बर्षका कार्यकालको लागि नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल पुनर्बीमा कम्पनीको सिईओ छनौट समितिले सर्टलिष्टमा परेका पाँचजनामध्येबाट प्रस्तुतिकरण लिइसकेपछि सिईओ सुरेन्द्र थापालाई बोर्डले सिईओ नियुक्त गर्ने निर्णय गरेको हो।

कम्पनीको सर्टलिष्टमा छानिएकाहरूमा दामोदर भण्डारी, नारायण कुमार भट्टराई, बुद्धकाजी श्रेष्ठ, श्रीमान कार्कीमध्ये थापालाई बोर्डले सिईओ पदको लागि नियुक्त गरेको हो ।

सिईओ नियुक्ती सम्बन्धी बीमा प्राधिकरणको संस्थागत सुशासन सम्बन्धी व्यवस्था अनुसार पूर्व स्वीकृतिको लागि बीमा प्राधिकरण पेश गरी स्वीकृत प्राप्त भएपछि उनको नियुक्ती प्रक्रिया पुरा हुनेछ ।

सर्टलिष्टमा परेकाहरूलाई व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तवार्ताका लागि यही जेठ ११ गते बोलाइएको थियो ।

नेपाल पुनर्बीमा कम्पनीको सिईओमा नियुक्त भएका थापा यसअघि अजोड इन्स्योरेन्सको डिसिईओको जिम्मेवारी सम्हालिसकेका छन् । त्यस्तै, यसअघि राष्ट्रिय बीमा कम्पनीको सिईओमा नियुक्त हुन पहिलो नम्वरमा परेर पनि जनार्दन शर्माले अन्यायपूर्वक नियुक्त हुन नदिएका व्यक्ति हुन् ।

थापा बीमा क्षेत्रमा लामो अनुभव भएका अब्बल प्रशासक हुन् । उनको कार्यकालमा पुनर्बीमा कम्पनीले थप प्रगति गर्ने विश्वास गरिएको छ ।

नेपाल पुनर्बीमा कम्पनीले आजै सिईओ नियुक्ती सम्बन्धी  स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा प्रक्रिया सुरु गरिसकेको छ । प्राधिकरणले पनि सिईओ नियुक्ती सम्बन्धी प्रक्रियाबारेको घटनाक्रमको पुष्टि गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*