नेप्सेलाई पुनःसंरचना गर्नुपर्ने महालेखाको सुझाव, धितोपत्र बोर्डले बुझेन पुँजी बजार

१३ जेष्ठ २०८१, आईतवार १८:४०

काठमाडौँ । महालेखा परिक्षकको कार्यालयले पुँजी बजारको दायरा र आकार वृद्धि गराउन जरुरी रहेको बताएको छ । आज ६१औं प्रतिवेदन सार्वजनिक गर्दै महालेखाले यस्तो बताएको हो ।

बजारको क्षेत्रगत विविधता बढाउने, धितोपत्र व्यवसायीको सेवा विस्तार, विदेशी लगानीकर्तालाई लगानीमा सहजता, वस्तु बजारको लागि नियमनकारी व्यवस्थाको सुदृढीकरण गर्न सरकारी स्वामित्वमा रहेका नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) पुनःसंरचना गर्नुपर्ने महालेखाले उल्लेख गरेको छ ।

प्रतिवेदनमा लगानीकर्तालाई प्रोत्साहन गर्ने नियामकले भुमिका खेल्न नसकेको महालेखाले जनाएको छ । ‘धितोपत्रमा लगानीसम्बन्धी शिक्षा दिने प्रक्रियाको थालनी भएको, सूचीकृत कम्पनीको संख्या न्यून रहेको, उत्पादनमूलक लगायत बहुसंख्यक कम्पनीहरूले धितोपत्र निष्काशन नगरेको, केही म्युचुअल फण्डबाहेक संस्थागत लगानीकर्ताको उपस्थिति न्यून रहेको, धितोपत्र दलालहरूको उपस्थितिले लागत घटाउन नसकिएको र निजी क्षेत्रलाई प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल सञ्चालन गर्न उत्प्रेरित गर्ने वातावरण नियमनकारी निकायहरूले बनाउन सकेको देखिँदैन’ प्रतिवेदनमा भनिएको छ ।

साथै, पुँजी बजारका पूर्वाधारहरूको क्षमता वृद्धि र विकास भएमा लगानीको निम्ति पुँजी आपूर्ति वृद्धि भई मुलुकको आर्थिक विकासले गति लिने महालेखाको ठहर छ । पुँजी बजारको कारोबार गर्न र राफसाफ गर्न सिडिएस एण्ड क्लियरिङ लिमिटेड स्थापना भई २०७२ देखि सबै सूचीकृत कम्पनीहरूको शेयर कारोबार अभौतिक रूपमा हुँदै आइरहेको छ । सूचीकृत ३२५ कम्पनीको २०८० असारमा बजार पुँजीकरण रू.३० खर्ब ८२ अर्ब ५ करोड रहेको छ । कर्पोरेट पेपर र ऋणपत्र बजारको उपस्थिति शुन्य प्रायः रहेको छ। भेन्चर क्यापिटल र प्राइभेट इन्भेष्टमेन्ट जस्ता व्यवसायलाई धितोपत्र बजारमा ल्याउन सकेको छैन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*