बैशाख महिनामा प्रथम बीमा शुल्कको आधारमा नेपाल लाइफ उत्कृष्ट, नेशनलको बृद्धि उच्च, राष्ट्रिय जीवन बीमा कम्पनीको अवस्था दयनीय

१७ जेष्ठ २०८१, बिहीबार ११:१५

काठमाडौं । बैशाख महिनामा जीवन बीमा कम्पनीहरुले संकलन गरेको प्रथम बीमा शूल्कको नेशनल लाइफ र नेपाल लाइफ उत्कृष्ट कम्पनी बन्न सफल भएका छन् भने सरकारी लगानीको राष्ट्रिय जीवन बीमा कम्पनीको अवस्था भने दयनीय बन्न पुगेको छ । चरम राजनीतिक हस्तक्षेप र भ्रष्टाचारको दलदलमा डुब्न पुगेको राष्ट्रिय जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क उच्च अंकमा गिरावट आएसँगै इतिहासकै अप्ठेरो मोडमा पुगेको छ ।

बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०८१ बैशाख महिनामा गत आवको बैशाख महिनाको तुलनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आम्दानी ३.८८ प्रतिशतले बृद्धि भएको छ । विवरण अनुसार गत आवको बैशाख महिनामा मात्रै २३ अर्ब ३२ करोड रुपैयाँ प्रथम बीमा शुल्क सकलन भएकोमा गत बैशाख महिनामा २४ अर्ब २३ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । कूल संकलन भएको प्रथम बीमा शुल्क मध्ये २२.३७ प्रतिशत अर्थात पाँच अर्ब ४२ करोड रुपैयाँ नेपाल लाइफ एक्लैले संकलन गर्न सफल भएको छ ।

तथ्याङ्क अनुसार सबैभन्दा धेरै बीमा शुल्क संकलन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ । सो कम्पनीले पाँच अर्ब ४२ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ । सो आधारमा दोस्रो नम्वरमा नेशनल लाइफ रहेको छ । नेशनल लाइफले तीन अर्ब ७२ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ । त्यस्तै, तेस्रो नम्वरमा एक अर्ब ८१ करोड प्रथम बीमा शुल्क संकलन गरेर हिमालयन लाइफ पर्न सफल भएको छ ।

त्यस्तै, एलआईसी नेपालले एक अर्ब ७१ करोड, मेट लाइफले एक अर्ब चार करोड, एशियन लाइफले एक अर्ब ३४ करोड, आइएमई लाइफले एक अर्ब १७ करोड, सन नेपाल लाइफले एक अर्ब १४ करोड, रिलायबल नेपाल लाइफले एक अर्ब ११ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, सिटिजन लाइफले एक अर्ब ४३ करोड, सुर्यज्योति लाइफले एक अर्ब ७८ करोड, सानिमा रिलायन्स लाइफले एक अर्ब ३३ करोड, प्रभु महालक्ष्मी लाइफले ७२ करोड र राष्ट्रिय बीमा कम्पनीले ४७ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्न सफल भएका छन् ।

बृद्धिदरको आधारमा सबैभन्दा धेरै नेशनल लाइफको रहेको देखिएको छ । सो कम्पनीले गत वर्षको बैशाखको तुलनामा २९.१४ प्रतिशतको बृद्धि हासिल गर्न सफल भएको छ । त्यस्तै, नेपाल लाइफको २०.६७ प्रतिशतले बृद्धि भएको छ । एशियन लाइफले १६.७८ प्रतिशतको बृद्धि हासिल गर्दा आइएमई लाइफले ११.४६, मेट लाइफले ५.८१ प्रतिशतले बृद्धि भएको छ ।

प्रथम बीमा शुल्क बृद्धि गर्ने अन्य कम्पनीहरुमा सिटिजन लाइफ, सानिमा रिलायनस लाइफ, रिलायबल लाइफ रहेका छन् ।

उता, प्रथम बीमा शुल्क उच्च ऋणात्मक हुने कम्पनीको सूचिमा राष्ट्रिय जीवन बीमा कम्पनी परेको छ । सो कम्पनीको प्रथम बीमा शुल्क ४४.२७ प्रतिशतले ऋणात्मक भएको छ । त्यस्तै, सन नेपालको २० प्रतिशत हुँदा प्रभु महालक्ष्मी लाइफको १६ प्रतिशत र सुर्यज्योति लाइफको १३ प्रतिशतले ऋणात्मक हुन पुगेको छ । एलआईसी र हिमालयन लाइफको समेत प्रथम बीमा शुल्क ऋणात्मक नै देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*