युनाइटेड मोदी हाईड्रोपावरले पुनः डाक्यो साधारण सभा, हकप्रद निष्काशन मुख्य एजेण्डा

१८ जेष्ठ २०८१, शुक्रबार ०७:३७

काठमाडौं । युनाइटेड मोदी हाईड्रोपावर लिमिटेडले पुनः वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सभा जेठ २७ गते काठमाडौंको कालीमाटीस्थित कालीमाटी व्यैङ्क्वेटमा विहान ११ बजेदेखि शुरू हुनेछ । कम्पनीको जेठ १६ गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो ।

कम्पनीले यसअघि गत चैत्र २९ गते कालीमाटी व्यैङ्केटमा सभा डाकेको थियो । तर, उक्त सभामा गणपुरक संख्या नपुगेपछि सभा स्थगित गरिएको कम्पनीले जानकारी दिएको थियो ।

सभामा कम्पनीको शेयर लगानी रहेको युनाइटेड मेवाखोला हाईड्रोपावरद्वारा प्रवर्द्धित ५० मेगावाटको मेवाखोला जलविद्युत आयोजनामा लगानी गर्नका लागि हाल कायम चुक्तापूँजी एक अर्ब २३ करोड पाँच लाख रुपैयाँको १ः१ अनुपात (शतप्रतिशत) मा एक करोड २३ लाख पाँच हजार कित्ता हकप्रद शेय जारी गर्ने र हकप्रद निष्काशनका लागि कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने प्रस्ताव पारित हुनेछ ।

त्यस्तै, वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने, संचालक समितिमा चार संचालक निर्वाचन गर्ने र अन्य लगानी क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा संचालक समितिलाई अख्तियारी दिने एजेण्डा पनि रहेको छ ।

सभा प्रयोजनार्थ कम्पनीले गत चैत्र ७ गते बुक क्लोज गरिसकेको छ । जसका आधारमा चैत्र ६ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*