११ हजारबढी कर्मचारीहरुको लागि बीमा कम्पनीहरुले खर्चिए करीब साढे ८ अर्ब रुपैयाँ, कुनले कति ?

राजन कठायत
२४ जेष्ठ २०८१, बिहीबार १८:०५

काठमाडौं । नेपालमा सञ्चालन रहेका बीमा कम्पनीहरुले आफ्ना कर्मचारीहरुको तलब, भत्ता तथा विभिन्न सेवा, सुविधा मार्फत करिव साढे ८ अर्ब रुपैयाँ खर्चिएका छन् । चालु आर्थिक वर्षको नौ महिनामा बीमा क्षेत्रका ११ हजार २८६ जना कर्मचारीहरुलाई कम्पनीहरुले ८ अर्ब २६ करोड बढी रुपैयाँ विभिन्न शिर्षकमा भुक्तानी गरेका हुन् ।

कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न, विभिन्न तालिम प्रदान गर्न, कर्मचारी तलव, बोनश तथा भ्रमण लगायतका सेवा सुविधा वितरण गर्न उक्त रकम बीमा कम्पनीहरुले कर्मचारीहरुका लागि खर्चिएका छन् । कम्पनीहरुको समग्र व्यवसाय वृद्धि तथा सरल र सक्षम सेवा उपलब्ध गराउन कर्मचारीहरु दिनरात खटिएका हुन्छन् । आम बीमितहरुलाई आवश्यक सेवा सुविधा दिन र विभिन्न घटना परिघटनामा राय सुझाव दिन कर्मचारीहरुको महत्वपूर्ण भुमिका रहेको हुन्छ ।

नेपालमा हाल १४ वटा जीवन बीमा कम्पनीहरुमा पाँच हजार ७०५ जना कर्मचारीहरु कार्यरत रहेका छन् । जीवन बीमा कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई वितरण गर्ने सेवा, सुविधामा खर्च गर्नुपर्ने रकमको दायरा झण्डै १७ प्रतिशतले बढाएर चार अर्ब ४१ करोड २८ लाख रुपैयाँ भुक्तानी गरेका छन् । कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा तीन अर्ब ७६ करोड ७२ लाख रुपैयाँ खर्चिएका थिए । अधिकांश कम्पनीहरुले कर्मचारीहरुको क्षमता अभिवृद्धिको लागि वैदेशिक भ्रमणदेखि लिएर विभिन्न तालिम तथा कर्मचारीहरुलाई आवश्यक परेको खण्डमा ऋण समेत उपलब्ध गराउदै आएका छन् ।

वित्तीय विवरण अनुसार हिमालयन लाइफले सबैभन्दा बढी रकम कर्मचारीको स्तरोन्नती तथा तलव, कमिसन, सेमिनार, तालिम लगायतको लागि खर्चिएको पाइएको छ । कम्पनीले चालु आर्थिक वर्षको नौ महिनामा ६४ करोड ४० लाख रुपैयाँ कर्मचारीहरुको लागि भुक्तानी गरेको हो । हिमालयन लाइफले बीमा क्षेत्रमा सबैभन्दा बढी कर्मचारीहरु मार्फत बीमितहरुलाई सरल र समय सापेक्ष सेवा दिदै आएको छ ।

त्यस्तै, नेपाल लाइफले ५७ करोड ५९ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ४६ करोड ११ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ३९ करोड ६६ लाख रुपैयाँ र नेशनल लाइफले ३६ करोड १२ लाख रुपैयाँ कर्मचारीहरुलाई तलव, बोनश लगायत अन्य सेवा सुविधामा खर्चिएका छन् ।

कर्मचारी सेवा सुविधाको सन्दर्भमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी सबैभन्दा पछाडी रहेको छ । सोही सन्दर्भमा बुझ्दा कम्पनीका सह–प्रवक्ता रेशम पौडेलले कम्पनीको चुक्ता पूँजी र नाफा नै कम भएका कारण कर्मचारीहरुलाई बढी सेवा सुविधा उपलब्ध गर्न नसकिएको बताए । साथै, उनले आउँदो दिनमा कम्पनीले व्यापार व्यवसाय र चुक्ता पूँजी वृद्धि गर्र्दै कर्मचारीहरुलाई उचित सेवा सुविधा र बोनश, तालिम लगायतका आवश्यक कुराहरु उपलव्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

निर्जीवन बीमा कम्पनीहरुमा हाल पाँच हजार ५८१ जना कर्मचारीहरु कार्यरत रहेका छन् । कम्पनीहरुले विभिन्न तालिम, कर्मचारी बोनश, तलव लगायत आवश्यक सेवा सुविधामा कर्मचारीहरुको लागि तीन अर्ब ८५ करोड ४७ लाख रुपैयाँ खर्चिएका छन् । कम्पनीहरुको उक्त खर्च अघिल्लो आर्थिक वर्षको तुलनामा ५४ प्रतिशतले वृद्धि भएको छ ।

कर्मचारीहरुको सेवा सुविधामा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सबैभन्दा बढी रुपैयाँ खर्चिएको छ । कम्पनीले आफ्ना कर्मचारीको लागि चालु आर्थिक वर्षको नौ महिनामा ४६ करोड ७ लाख रुपैयाँ खर्चिएको छ ।

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४२ करोड २२ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले ३६ करोड ८८ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३३ करोड ८९ लाख रुपैयाँ, आईजीआई प्रूडेन्सियल इन्स्योरेन्सले ३३ करोड र अन्य कम्पनीहरुले यी भन्दा कम रकम कर्मचारी सेवा सुविधामा खर्चिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*