सरकारको प्राथमिकतामा पूँजीबजार परेको छः नवराज अधिकारी

२५ जेष्ठ २०८१, शुक्रबार ११:०९

काठमाडौं ‌। नेपाल धितोपत्र बोर्डका प्रमुख कार्यकारी निर्देशक नवराज अधिकारीले पूँजीबजारलाई प्राथमिकता सरकारले दिँदै आएको बताएका छन् । बोर्डको ३२ औं वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन् ।

धितोपत्र बजार तथा वस्तु विनिमय बजार सुधार तथा विकास विस्तारमा सरकारको प्राथमिकतामा रहेको उनले बताए । नेपाल सरकारको आर्थिक वर्ष २०८१।८२ को नीति तथा कार्यक्रममा नियमन र सुपरिवेक्षणलाई सुदृढ गर्दै वित्तीय क्षेत्रलाई स्वस्थ, प्रतिस्पर्धी र भरपर्दो बनाइने बिषय राम्रो रहेको उल्लेख गरे ।

‘बैंक तथा वित्तीय संस्था, लघुवित्त, सहकारी, बीमा र पूँजीबजारमा देखिएका समस्या समाधान गर्न विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त सुझावहरु क्रमशः कार्यान्वयन गरिनेछ भन्ने समावेश गरिएको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८१।८२ को बजेट वक्तव्यको बुँदा नं ९० मा विभिन्न सम्झौतित कोषको रकम प्राइभेट इक्विटी फण्ड र भेञ्चर क्यापिटल फण्डका धितोपत्र एकाइमा लगानी गर्ने व्यवस्था मिलाईनेछ । बुँदा नं २७६ मा वित्तीय क्षेत्रसँग सम्बन्धित कानुनलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल बनाईनेछ’ अधिकारीले भने ।

नियामक निकायको नियमन र सुपरिवेक्षण क्षमता सबल र प्रभावकारी बनाइने बिषय स्वागतयोग्य रहेको बताए । धितोपत्र बोर्ड नेपाल र नेपाल बीमा प्राधिकरणको संस्थागत सुधार, पूँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिंग लिमिटेडको संरचनागत सुधार गरिने विषय राम्रो रहेको उनको भनाई थियो ।

त्यस्तै, वस्तु विनिमय बजारको सञ्चालन गर्न कानुनी र संस्थागत व्यवस्था मिलाईने, निश्चित रकम भन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य रुपमा धितोपत्र बजारमा सूचीकरण हुनुपर्ने व्यवस्था गरिने जस्ता नीति तथा कार्यक्रम समाविष्ट रहेकाले यो निर्णय स्वागतयोग्य रहेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*