पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षणमा जोड दिन्छौंः अर्थमन्त्री पुन

२५ जेष्ठ २०८१, शुक्रबार १२:५४

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षणमा जोड दिने बताएका छन् । नेपाल धितोपत्र बोर्डको ३२ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार शुभकामना दिंदै नियामक निकायको नियमन र सुपरिवेक्षण क्षमता सबल गरी संस्थागत सुदृढीकरण गरी लगानीकर्ताको हितमा जोड दिने बताएका हुन् ।

पुनले नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङको संरचनागत सुधार गरिने समेत बताए । उनले वस्तु विनिमय बजारको सञ्चालन गर्न कानूनी र संस्थागत व्यवस्था मिलाउने र आगामी दिनमा पूँजीबजारमा देखिएका समस्याहरूको समाधान गर्दै बजारलाई व्यवस्थित तथा नियमित गर्ने बताएका छन् ।

पूँजीबजारमा सर्वसाधारणको आकर्षण बढोत्तरी हुँदै गएको परिप्रेक्ष्यमा धितोपत्र बोर्डले देशको समग्र आर्थिक तथा वित्तीय क्षेत्रको विकास र स्थायित्वमा अग्रणी भूमिका खेल्दै आएको बताए । साथै, उनले आगामी दिनमा समेत बोर्डले पूर्ण क्षमताका साथ आफ्नो कार्य सञ्चालन गरी देशभित्र छरिएर रहेको बचत तथा वैदेशिक पूँजी समेतलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्दै आर्थिक–सामाजिक रूपान्तरण एवं आर्थिक समृद्धि हासिल गर्ने दिशामा महत्वपूर्ण भुमिका खेल्नु पर्ने बताए ।

उनले सम्झौतित कोषको रकम प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्डका धितोपत्र एकाइमा लगानी गर्ने व्यवस्था गरिनुका साथै धितोपत्र सम्बन्धी कानूनलाई अन्तरराष्ट्रिय मापदण्ड अनुकूल बनाउने पनि बताए । त्यसैगरी,उनले नियामक निकायको नियमन र सुपरिवेक्षण क्षमता सबल गरी संस्थागत सुदृढीकरण गरी पूँजीबजारका लगानीकर्ताको लगानी र हित संरक्षणमा जोड दिने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*