‘पुँजी बजारको पहुँच देशव्यापी बनाउन पूर्वाधार तथा सेवामा सुधार आवश्यक’

डा.नबराज अधिकारी
२५ जेष्ठ २०८१, शुक्रबार १८:४८

सर्वप्रथम म यस महत्वपूर्ण अवसरमा देशमा आर्थिक–सामाजिक रूपान्तरण गरी उत्पादनशील, रोजगारीमूलक र न्यायपूर्ण वितरणसहितको उच्च फराकिलो, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्दै समिष्टगत आर्थिक स्थायित्व कायम गर्ने नेपाल सरकारको प्राथमिकता पूरा गर्न र अर्थतन्त्रको सन्तुलित एवं दिगो विकासका लागि वित्तीय साधनको दक्ष परिचालन गर्न पुँजी बजार तथा नेपाल धितोपत्र बोर्डले महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गर्न चाहन्छु ।

नेपाल सरकारको आ.व. २०८१।८१ को बजेट वक्तव्यमा समावेश वित्तीय क्षेत्रसँग सम्बन्धित कानुनलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल बनाउने, नियमन निकायको नियमन र सुपरिवेक्षण क्षमता सबल र प्रभावकारी बनाउने, धितोपत्र बोर्ड नेपालको संस्थागत क्षमता सुधार गर्ने, पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्ड नेपालको संस्थागत सुदृढीकरण गर्ने, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको संरचनागत सुधार गर्ने, वस्तु विनिमय बजारको सञ्चालन गर्न कानुनी र संस्थागत व्यवस्था मिलाउने, पुँजी बजारमा क्षेत्रगत विविधीकरण ल्याउनका लागि निश्चित रकम भन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य रुपमा धितोपत्र बजारमा सूचीकरण हुनपर्ने व्यवस्था गर्ने जस्ता पुँजी बजार सुधार तथा विकास सम्बन्धी महत्वपूर्ण कार्यक्रमहरु कार्यान्वयन गर्नमा बोर्डले प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्दै नेपाल सरकार तथा उच्च नीति निर्माताहरुले देशको आर्थिक बृद्धि तथा लगानीको वातावरणमा सुधार ल्याउनमा सुदृढ एवं विश्वसनीय पुँजी बजारको अपरिहार्यतालाई आत्मसात गरी पुँजी बजारमा योग्य एवं सक्षम नेतृत्वको व्यवस्था गरी आवश्यक समन्वय एवं सहजीकरण भएमा बजेट वक्तव्यमा समावेश उल्लेखित कार्यक्रमहरु यथासमयमा कार्यान्वयन गर्न सकिने विश्वास समेत व्यक्त गर्न चाहान्छु ।

यस अवसरमा नेपालको वित्तीय प्रणालीको एक महत्वपूर्ण नियमन निकाय नेपाल धितोपत्र बोर्डको हालसम्म पनि आफ्नै कार्यालय भवन नहुँदा बोर्डको संस्थागत तथा नियमन क्षमता अपेक्षितरुपमा विकास गर्न र बोर्डमा आधुनिक सूचना प्रविधिको व्यवस्था गरी बोर्डको गतिविधिहरुलाई स्वचालित बनाउन कठिनाई परिरहेकाले कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका राजस्व सचिवज्यू मार्फत् नेपाल सरकारलाई बोर्डको आफ्नै कार्यालय भवन निर्माणका लागि उपयुक्त स्थानमा जग्गा उपलब्ध गराईएमा बोर्डले आफ्नै स्रोत प्रयोग गरी आधुनिक कार्यालय भवन निर्माण गर्न सक्ने जानकारी गराउँदै बोर्डका लागि जग्गा उपलब्ध गराईदिनुहुन अनुरोध गर्दछु ।

बोर्डले चालु आ.व २०८०।८१ मा धितोपत्र बजारसम्बन्धी कानुनी व्यवस्थामा सुधार गर्ने, लगानीकर्ताको गुनासाहरुको समाधान गर्ने, कानुनी प्रवलीकरणमा जोड दिने, धितोपत्र कारोबार लागतमा कटौती गरी बजारलाई लगानीकर्तामैत्री बनाउने, देशव्यापीरुपमा लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि गरी बजारलाई सुसूचित बनाउने लगायत बजार सुपरिवेक्षण कार्यलाई प्रभावकारी बनाउने कार्य गरेको छ ।

कानुन सुधारतर्फ धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा सातौँ संशोधन गरी जलवायु परिवर्तनको प्रतिकुल प्रभावलाई न्यूनीकरण गर्ने गरी पर्यावरण मैत्री परियोजना संचालन तथा दिगो विकासका लक्ष्य हासिल गर्न हरित ऋणपत्र (ग्रीन बण्ड वा डिवेञ्चर) निष्काशन गर्न सक्ने गरी कानुनी व्यवस्था गरिएको छ ।

गुनासो समाधानतर्फ आर्थिक वर्ष २०८०।८१ को बैशाख मसान्तसम्मको अवधिमा बोर्ड समक्ष विभिन्न माध्यमबाट ९१ वटा गुनासो तथा उजुरी प्राप्त भएकोमा ७३ वटा गुनासो तथा उजुरी उपर कारवाही सम्पन्न भएको १३ वटाको समाधानको चरणमा रहेका छन् भने ३ वटा गुनासो बोर्डको क्षेत्राधिकार बाहिर रहेका थिए ।

कानुन प्रवलीकरणतर्फ सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७फ. को उपदफा (१) को खण्ड (ख) बमोजिम सूचक संस्था एक मर्चेण्ट बैंकरलाई १० लाख रुपैँया जरिवाना गरिएको छ । धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क) मा भएको व्यवस्था विपरीत सेयर हस्तान्तरण गराएको एक धितोपत्र दलाल व्यवसायीलाई ५० हजार रुपैँया जरिवाना गरिएको छ । सूचीकृत सङ्गठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ को दफा १४ को उपदफा (६) मा भएको व्यवस्था विपरीत सेयर कारोबार गराएको देखिएकोले एक धितोपत्र दलाल व्यवसायीलाई ५० हजार रुपैँया जरिवाना गरिएको छ । त्यस्तै, क्रेडिट रेटिङ्ग व्यवसायलाई व्यवस्थित गर्ने उद्देश्यले क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को व्यवस्था विपरित आफ्नो मुख्य सेयरधनी सम्बद्ध कम्पनीहरुको रेटिङ्ग कार्य गरेको एक रेटिङ्ग कम्पनीलाई धितोपत्र ऐन, २०६३ को दफा १०१ को उपदफा (७) बमोजिम रु. ५० हजार रुपैँया जरिवाना गरिएको छ ।

बजारलाई लगानीकर्तामैत्री बनाउनेतर्फ बोर्डले धितोपत्र बजारमा मध्यस्थता लागत कम गरी पुँजीमा पहुँच तथा कारोवारमा बृद्धि गर्न धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा संशोधन गरी संगठित संस्थाको सेयरको खरिद तथा बिक्रीको कारोवारमा धितोपत्र दलाली वापत लिन पाउने सेवा शुल्कमा १० प्रतिशतले कटौती गरी लागू गरिएको छ ।

लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धितर्फ समग्र धितोपत्र बजारका सम्बन्धमा जानकारी प्रवाह गरी पुँजी बजार साक्षरता अभिवृद्धि गर्न र बजारलाई सुसूचित बनाउन बोर्डको नियमित लगायत अन्तर्राष्ट्रिय निकायहरुको आव्हानमा संचालन हुने विश्व लगानीकर्ता सप्ताह र ग्लोवल मनी सप्ताहको अवसरमा देशका विभिन्न स्थानमा कुल १७९ वटा वित्तीय तथा लगानीकर्ता शिक्षा एवं साक्षरता अभिवृद्धि कार्यक्रमको आयोजना गरिएकोमा उक्त कार्यक्रमहरुमा मार्फत करिब २५,४०० भन्दा बढी युवा, विद्यार्थी, लगानीकर्ता एवं अन्य सर्वसाधारणहरुले पुँजी बजार सम्बन्धी शिक्षा प्रदान गरिएको छ ।

बजार गतिविधीहरुको निरीक्षण तथा सुपरिवेक्षणतर्फ सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा सूचक संस्थाले पूरा गर्नुपर्ने दायित्व प्रभावकारी रुपमा पूरा गर्न/गराउन सम्पुर्ण सूचक संस्थाको गैर स्थलगत सुपरिवेक्षणका साथै १० धितोपत्र दलाल व्यवसायी, ५ मर्चेन्ट बैंकर र नेपाल स्टक एक्सचेन्ज लि. को ओटिसी बजारको स्थलगत सुपरिवेक्षण गरिएको छ । वार्षिक नीति तथा कार्यक्रम योजना अनुसार २०८१ बैशाख मसान्तसम्ममा धितोपत्र बजार लगायत धितोपत्र व्यवसायीहरुको ५२ वटा स्थलगत निरीक्षण कार्य सम्पन्न भएको छ ।

स्थलगत तथा गैरस्थलगत सुपरिवेक्षणबाट कैफियत देखिएको कारण विभिन्न धितोपत्र व्यवसायीहरुलाई १७ वटा निर्देशन जारी गरिएको छ । त्यसैगरी सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्थाका सम्बन्धमा २०८१ बैशाख मसान्तसम्ममा १४ धितोपत्र दलाल, ५ मर्चेण्ट बैंकर र १ ओटिसी बजार समेत गरी कूल २० वटा स्थलगत निरीक्षण कार्य सम्पन्न भएको छ । साथै, बोर्डले चालु आर्थिक वर्षमा धितोपत्र व्यवसायीहरुको प्रभावकारी सुपरिवेक्षणका लागि जोखिममा आधारित सुपरिवेक्षण फ्रेमवर्क विकास गरी आगामि आ.व.मा लागू गर्ने तयारी पूरा गरेको छ ।

अन्त्यमा बोर्डको ३२ औं वार्षिकोत्सवको विशेष अवसरमा बोर्डको संस्थागत सुदृढीकरण र पुँजी बजार सम्बन्धी पूर्वाधार तथा सेवामा सुधार ल्याई नियमन तथा बजारको पहुँच देशव्यापी बनाउने, बजार गतिविधिहरूलाई गतिशिल, पारदर्शी र विश्वसनीय बनाउन बजारसम्बन्धी अन्तर्राष्ट्रिय सिद्धान्त तथा असल अभ्यास अनुसरण गर्दै नेपाल सरकारले तय गरेका बजार विकासका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन र धितोपत्र सम्बन्धी कानुनी व्यवस्था तथा कार्य प्रक्रियामा सुधार गरी लगानीकर्ताको हक हित रक्षा गर्ने प्रतिवद्धतासहित कार्यक्रममा उपस्थित सम्पूर्णहरुलाई पूनः स्वागत गर्दै विदा हुन्छ ।

(नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक अधिकारीले बोर्डको ३२औं वार्षिकोत्सवको अवसरमा राखेको मन्तब्य)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*