११ महिनामा एक खर्ब २९ अर्बको धितोपत्र सूचीकृत

२६ असार २०८१, बुधबार १८:००

काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा १ खर्ब २९ अर्ब रुपैयाँ बराबरको आईपीओ, एफपीओ, बोनस र हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार १ खर्ब २९ अर्ब ९८ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको हो ।

सूचीकृत भएको धितोपत्रमध्ये ८६ अर्ब ८१ करोड रुपैयाँ बराबरको साधारण सेयर, २१ अर्ब ९८ करोड रुपैयाँ बराबरको बोनस, २१ अर्ब १७ करोड रुपैयाँ बराबरको हकप्रद र ३ करोड रुपैयाँ बराबरको एफपीओ जारी भएको राष्ट्र बैंकले जनाएको छ ।

जेठ मसान्तसम्ममा नेपाल धितोपत्र बोर्डले २५ अर्ब ९८ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ । जसमा ९ अर्ब ८० करोड रुपैयाँ बराबरको आईपीओ०, ६ अर्ब २ करोड रुपैयाँ बराबरको डिबेन्चर, ५ अर्ब ४६ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ४ अर्ब ७० करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड रहेको छ ।

२०८० जेठ मसान्तमा २०४२।०७ बिन्दुमा रहेको नेप्से सूचकाङ्क २०८१ जेठ मसान्तमा ७०।२३ अंकले बढेर २११२।३० कायम भएको छ । साथै २०८१ जेठ मसान्तमा धितोपत्र बजार पँुजीकरण ३ खर्ब ६३ अर्ब २८ करोड रुपैयाँले बढेर ३३ खर्ब ४९ अर्ब ४८ करोड कायम भएको छ । २०८० जेठ मसान्तमा बजार पुँजीकरण २९ खर्ब ८६ अर्ब २० करोड रुपैयाँ रहेको थियो ।

नेप्सेमा २०८० जेठमा सूचीकृत कम्पनीहरूको संख्या २५४ रहेकोमा २०८१ जेठ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या १६ ओटाले बढेर २७० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये ४८.८९ प्रतिशत अर्गात १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । यसैगरी ९१ ओटा जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५८.३० प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १५.० प्रतिशत, लगानी कम्पनीको हिस्सा ७।२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.७ प्रतिशत, होटेलको हिस्सा २।९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.४ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८१ जेठ मसान्तमा सूचीकृत ८ अर्ब ३१ करोड सेयरको चुक्ता मूल्य ८ खर्ब २३ अर्ब ३१ करोड रुपैयाँ बराबर रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*